३१ असार २०८३, बुधबार

रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी

असार १९, २०८३
काठमाडौं
रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी

फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत टोरन्टोमा जारी रोमाञ्चक खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले क्रोएसियाविरुद्ध १–१ को बराबरी गरेको छ। 

पहिलो हाफमा पोर्चुगलले बलमाथि नियन्त्रण राखे पनि गोल निकाल्न सकेको थिएन। त्यसैको फाइदा उठाउँदै दोस्रो हाफको सुरुवातमै क्रोएसियाले आक्रामक कमब्याक गर्‍यो । खेलको ५३औं मिनेटमा दिग्गज खेलाडी इभान पेरिसिचले उत्कृष्ट फिनिसिङ गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। 

जोसिप स्टानिचिचको पासलाई बक्सभित्र सदुपयोग गर्दै पेरिसिचले आफ्नो बलियो देब्रे खुट्टाले बललाई जाली चुमाएका थिए । 

एक गोलले पछि परेको अवस्थामा पोर्चुगलले निकै आक्रामक खेल प्रस्तुत गर्‍यो। यसै क्रममा राफेल लियोको एउटा उत्कृष्ट प्रहार पोलमा लागेर फर्किएको थियो । खेलको ६०औं मिनेटमा रोनाल्डोले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड देखाउँदै मान्यता दिएन, जसका कारण उनको चर्चित 'सिउउउ' सेलिब्रेसन त्यतिबेला अधुरै रहन पुग्यो।

खेलमा पकड जमाउन र नतिजा आफ्नो पक्षमा पार्न पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले एकैपटक चारजना खेलाडी परिवर्तन गर्ने साहसिक निर्णय गरे। प्रशिक्षक मार्टिनेजको यो रणनीति तुरुन्तै फलदायी देखियो। खेलाडी परिवर्तन भएको केही मिनेटमै क्रोएसियाका डिफेन्डरले रेनाटो भेइगालाई बक्सभित्र लडाएपछि पोर्चुगलले पेनाल्टीको सुनौलो अवसर पायो ।

खेलको ६८औं मिनेटमा प्राप्त उक्त महत्त्वपूर्ण पेनाल्टी प्रहार गर्न कप्तान रोनाल्डो अघि बढे । रंगशालाभरि अत्यधिक दबाब र तनावको वातावरण भए पनि अनु अनुभवी रोनाल्डो कत्ति पनि विचलित नभएर उनले गोल गरे । 

रोनाल्डोको यो पेनाल्टी गोलसँगै खेल १–१ को रोमाञ्चक स्थितिमा आइपुगेको छ र दुवै टोली अर्को चरणमा पुग्न थप गोलको खोजीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्