
चर्चित हास्य कलाकारद्वय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु मास्टर’बीचको सम्बन्धमा चिसोपन आएको विषय केही दिनयता चर्चामा छ ।
‘मेरी बास्सै’देखि व्यावसायिक सहकार्य गर्दै आएका हितैषीहरू ‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’को जोडी फुट्न लागेको कुरालाई दर्शकले मात्र नभइ कलाकारहरूले समेत चासोका साथ हेरेका छन् ।
पछिल्लो समय ‘हल्का रमाइलो’ सिरियलमा ‘बल्छी धुर्वे’ एक्लै देखिएका छन् । त्यस्तै ‘राजु मास्टर’ले ‘बल्छी धुर्वे’ बिना नै नयाँ सिरियल ‘लफडा’ ल्याउने तयारी गर्दै प्रोमो सार्वजनिक गरिसकेका छन् । यता, दुईको संयुक्त लेखन, निर्देशन एवं अभिनय रहँदै आएको सिरियल ‘जुठे’पछिल्लो समय प्रसारणमा आउन सकेको छैन । यी कुराहरुले पनि उनीहरूको सम्बन्धमा खटपट आएको अनुमान भइरहेका छन् ।
यस्तो माहोलमा उनीहरूको व्यावसायिक सहकार्यलाई लिएर नयाँ खबर प्राप्त भएको छ । आउँदा दिनमा ‘हल्का रमाइलो’मा राजु मास्टरको अभिनय नहुने भएको छ । ‘बल्छी धुर्वे’ले उक्त सिरियल ल्याउनेछन् । राजु मास्टरको नयाँ सिरियलमा पनि ‘बल्छी धुर्वे’को अभिनय हुनेछैन । यता, ‘जुठे’ सिरियलमा भने दर्शकले उनीहरू दुवै जनालाई हेर्न पाउने भएका छन् । यसअघि दुवै सिरियलमा दुई जनाको संयुक्त लेखन, निर्देशन एवं अभिनय समेत रहँदै आएको थियो ।
‘जुठे’ यसअघि राजु पौडेलको युट्युबबाट आउने गरेको थियो । उक्त सिरियल आउँदा दिनमा नयाँ युट्युब च्यानलमा सार्वजनिक गर्ने, त्यसको खर्च र आम्दानीको हिस्सा आधा आधा हुने उनीहरूबीच आन्तरिक सहमति भएको छ ।
बुझिएअनुसार उनीहरूका शुभचिन्तकको आग्रहमा र चाहनामा यी दुई भेटेर छलफल गरेपछि उक्त सहमति गरेका हुन् ।
‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’ शनिवार दिनभर बसेर आगामी सहकार्यबारे निचोडमा पुगेको उनीहरू निकटस्थहरुले जानकारी दिएका छन् ।
भेटघाटको तस्वीर ‘बल्छी धुर्वे’ले सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन् ।
भ्याली बाहिर छायांकनमा जानुपर्ने भएकाले ‘जुठे’ प्रसारणमा ल्याउन अझै केही समय लाग्ने बुझिएको छ ।