
‘विज्ञान भैरव’ र ‘रघुकुल तिलक श्रीरामको वैराग्य’ नामक २ कृति एकैसाथ प्रकाशनमा आएका छन् ।
कमलप्रसाद ढुंगानाद्वारा लिखित यी दुवै पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।
तन्त्रशास्त्र खासगरी आगम तन्त्र अन्तर्गत पर्ने विज्ञान भैरव तन्त्रमा ११२ वटा ध्यानका विधि उल्लेख छन् । महादेवले पार्वतीलाई जुन ध्यानका विधि बताएका थिए त्यही नै विज्ञान भैरव तन्त्र हो । पुस्तकमा लेखकले तिनै ११२ वटा ध्यानका विधिलाई सरल ढंगले नेपाली भाषामा व्याख्या गरेका छन् ।
लेखक ढुंगानाका अनुसार यी ध्यान भनेका त्यस्ता ध्यान हुन्, जुन विगत, वर्तमान र आगत तिनै पुस्ताका मानव समुदायलाई उपयोगी मानिएका छन् ।
व्याख्याका साथमा मूल ग्रन्थको श्लोक समेत दिइएकाले पुस्तक थप पठनीय र विश्वसनीय हुन पुगेको छ ।
रघुकुल तिलक श्रीरामको वैराज्ञ नामक पुस्तकमा श्रीरामको ब्रह्मचिन्तन र वैराज्ञ सम्बन्धी विषयवस्तु वर्णन भएका छन् । महर्षि वाल्मीकिले ऋषि भरद्वाजलाई बताएका श्रीरामका ब्रह्मतत्व सम्बन्धी जिज्ञासालाई नेपाली भाषामा सरल ढंगले विवेचन भएका छन् ।
रत्न पुस्तक भण्डारका प्रबन्ध निर्देशक गोविन्द श्रेष्ठका अनुसार समाजलाई आध्यात्मिक ज्ञान सदैव आवश्यक पर्ने भएकाले रत्न पुस्तक भण्डारले यस्ता पुस्तकहरू पनि प्रकाशनमा ध्यान दिने गरेको छ ।