०२ असार २०८३, मंगलबार

राणाशासनदेखि गणतन्त्रसम्मका साक्षी ९९ वर्षे खड्का दम्पती : जीवनमा सबथोक छ, सुख बाहेक

भदौ १९, २०८०
म्याग्दी
राणाशासनदेखि गणतन्त्रसम्मका साक्षी ९९ वर्षे खड्का दम्पती : जीवनमा सबथोक छ, सुख बाहेक
  • ध्रुवसागर शर्मा

उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी २ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ । 

त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मष्तिष्क छ । राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख’ भने जहिल्यै उनीबाट टाढै बस्यो ।

बगरफाँटमा भाइको गोठमा चौरासी वर्षे श्रीमती खिरकुमारी थापासँगको जीवन गुजारा सरकारले दिने सामाजिक सुरक्षा बापतको भत्ता र केही मनकारीले दिने सहयोगले धानेको छ । छोरा/छोरी र नाती/नातीना र पतानी पुस्तासँग खेल्दै रमाउने गर्ने उमेरमा उनीहरूको साथ छैन । 

बुढेसकालको सहारा बन्नुपर्ने छोरा मीनबहादुर ४२ वर्ष अघि नै परलोक भइसकेका छन् भने बोल्न नसक्ने एक मात्र छोरी बेनीको तोराखेतमा भएकाले आइरहन पाउँदिनन् । उसो त शरीरमा दीर्घरोग नभए पनि यी दम्पती कहिलेकाँही बिरामी हुँदा निकै दुःख पाउने गरेको छिमेकी टेकबहादुर कार्की बताउँछन् । 
    
“जसोतसो उहाँहरूको गुजारा चलिरहेको छ, उहाँहरू भाइको गोठमा बसिरहनुभएको छ । बिरामी हुँदा अलिक बढी समस्या हुन्छ”, उनले भने, “तर पनि आफन्त, इष्टमित्रको सहयोग भइरहेको छ ।” तर बिरामी भएकै कारण ठूलो उपचार भने गर्नु परेको छैन ।
    
दम्पतीको दैनिकी सामान्य व्यक्ति जस्तै गरी बित्छ । आगो बाल्न दाउरा र झिँजा बटुल्नै पर्‍यो भने बाँच्नका लागि खाना खानै पर्‍यो । त्यसका लागि सरकार र केही संस्थाको सहयोग भइरहेकोमा उनी खुसी व्यक्त गर्छन् ।

बिहानै उठेर नित्य कर्म गरी भगवानको आराधना गर्ने थापाको पुरानै बानी हो । त्यसपछि लठ्ठि टेक्दै गाउँ डुल्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याउने उनको काम हो । दिउँसोको समयमा छिमेकीसँग ठट्यौली पारामा कुरा गर्ने र सबैलाई हँसाउने बानीले पनि उनीलाई स्वस्थ राखिरहेको छिमेकी पदमपाणी शर्माको भनाइ छ । 

जीवनको उत्तरार्द्धतिर आइपुग्दा पनि उनमा बाँच्ने चाहना अझै सकिएको छैन । उनमा अझै १० वर्ष बाँच्छु भन्ने आत्मविश्वास ज्यूँदैछ । “लिएर आएको कर्म नभोगी कसैलाई छुट छैन”, थापाले भने, “सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्प्त्ति खाने मान्छेले फर्केर पनि हेर्दैनन् ।” ज्योतिषीले एक सय १० वर्षको आयु बताएको भन्दै उनी ठट्यौली शैलीमा भन्छन् “मर्दिन बाबु सानोतिनो रोगले, बरु भोकै मरुँला रोगले मलाई लैजाँदैन ।”

थापा दम्पतीले समय–समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति तथा मनकारी गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग पाउने गरेका छन् । कसैलाई तीतो बचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरूलाई नदेखाउने स्वभावका थापाप्रति गाउँलेहरूले दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्