०७ असार २०८३, आइतबार

वायुसेवा निगम र ४ संस्थाबीच ‘ऐतिहासिक’ सम्झौता, व्यावसायिकताको निखारतामा निगमको ध्यान [भिडियोसहित]

असोज १८, २०८०
काठमाडौं
वायुसेवा निगम र ४ संस्थाबीच ‘ऐतिहासिक’ सम्झौता, व्यावसायिकताको निखारतामा निगमको ध्यान [भिडियोसहित]

नेपाल वायुसेवा निगमले निजी क्षेत्रका चार संस्थासँग ‘ऐतिहासिक’ सम्झौता गरेको छ । यस्तो सम्झौता पहिलो पटक भएकाले यसलाई ‘ऐतिहासिक’ भनिएको हो ।

null

निगमसँग सहकार्य गरी द्विपक्षीय लाभ हासिल गर्ने उद्देश्यले सम्झौता गर्नेमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र राष्ट्रिय व्यवसायिक पहल (नेसनल बिजनेस इनिसिएटिभ) छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षता तथा सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यो सम्झौता भएको हो ।

सम्झौताअनुसार ४ संस्थामा आबद्ध पदाधिकारी, सदस्यहरू, कर्मचारी र तिनका परिवारले निगमको जहाजबाट यात्रा गर्ने, ती संस्थाले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रबद्र्धन गर्नुपर्नेछ । निगमले पनि भाडादरमा १५ प्रतिशत छुट दिनेछ ।

सम्झौता पत्रमा निगमका तर्फबाट कार्यकारी अध्यक्ष अधिकारीले हस्ताक्षर गरेका थिए । यस्तै उद्योग बाणिज्य महासंघका तर्फबाट नेपाल युवा उद्यमी मञ्चका प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, उद्योग परिसंघका तर्फबाट युवा उद्यमी मञ्च कोशी प्रदेशका अनमोल प्रधान, नेपाल च्याम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल र राष्ट्रिय व्यावसायिक पहलका तर्फबाट अध्यक्ष कुशकुमार जोशीको पनि हस्ताक्षर रहेको छ ।

कार्यक्रममा निगमका वाणिज्य विभाग निर्देशक टंकनिधि दाहालले निजी क्षेत्रसँग यस्तो खालको पहिलो सम्झौता भएको जानकारी दिए । 

‘ऐतिहासिक’ सम्झौतासँगै अब निगमले आफ्नो व्यावसायिकताको निखारतामा पनि ध्यान दिने उनको भनाइ थियो । 

‘अब हामी चाँडै नै नयाँ गन्तव्यमा पनि जानुपर्छ । यसका लागि नयाँ विमान थप्नु पर्नेछ ।  साथै विमान थप्दा आइपर्ने कानूनी व्यवधानसमेत हटाउनु पर्नेछु,' उनले भने ।  

त्यस्तै सञ्चालक समिति सदस्य किशोर प्रधानले राष्ट्रिय ध्वजावाहक वायुसेवामा नेपाली व्यवसायीहरूलाई चढ्ने वातावरण बनाउन यो सम्झौताले राम्रो प्रयास गर्ने धारणा व्यक्त गरे ।

 

त्यसैगरी उद्योग वाणिज्य महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले यस सम्झौताबाट ४ संस्थासँग आबद्ध व्यवसायी सदस्यहरू लाभान्वित हुने तथा निगमको व्यापार व्यवसायसमेत बढ्ने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा निगमका सञ्चालक समिति सदस्यद्वय सुधीरशमशेर राई र अमृतमान श्रेष्ठको पनि उपस्थिति थियो ।

हेरौं भिडियोः 


 

कमेन्ट गर्नुहोस्