
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।
हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समाजको प्रतिनिधि कथामा चलचित्र बनेको प्रतिक्रिया दिइरहेका छन् । यो चलचित्र हेरेका दर्शकको आँखा रसाएको थुप्रै भिडियोहरू टिकटकमा समेत छ्यापछ्याप्ती छन् ।
राजधानीका भन्दा मोफसलका हलमा चलचित्रले दर्शकबाट राम्रो साथ पाइरहेको देखिन्छ । यसैबीच निर्माण टिमले चलचित्रको पहिलो ४ दिनको कमाई सार्वजनिक गरेको छ । चलचित्रले सोमवारसम्ममा १ करोड ९८ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ ।
सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेका कारण चलचित्रले आगामी दिनमा पनि राम्रो व्यापार गर्ने विश्वास लिइएको छ । मंगलवार पनि यो चलचित्र हेर्न पुगेका दर्शकले देशभरका धेरै हल भरिभराउ भएका थिए ।
रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वशंल र निर्देशक रायमाझी मिलेर निर्माण गरेका हुन् । गायक प्रकाश सपूतको ‘परदेशी २’ डेब्यु चलचित्र हो ।
चलचित्रमा प्रकाशसहित केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ ।
चलचित्रका शीर्ष कलाकारहरू यतिबेला दर्शक भेट्न मोफसलमा हलहलमा पुगिरहेका छन् ।
