
‘नाई नभन्नु ल २’बाट अभिनेत्रीका रुपमा भित्रिएकी वर्षा शिवाकोटीको डेब्यु फिल्म नै हिट भएको थियो । त्यसपछि उनले अभिनय गरेको अर्को फिल्म ‘पशुपति प्रसाद’ले सकारात्मक समीक्षा पाउनुका साथै राम्रो व्यापार गर्यो ।
यी दुई फिल्म बाहेक उनले अभिनय गरेका अधिकांश फिल्म लगातार असफल भइरहेका थिए । सोही कारण उनलाई ‘अनलक्की अभिनेत्री’का रुपमा समेत हेर्ने गरिएको थियो ।
वर्षाले अभिनय गरेका फिल्म असफल भएपनि उनलाई फिल्मको अभाव भने भएन । उनले हरेक वर्ष १–२ वटा फिल्ममा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ प्रायः फिल्ममा हुने गरेको छ ।
यद्यपि, ‘पशुपति प्रसाद’ रिलिज भएको ७ वर्षपछि वर्षाले अर्को हिट फिल्मकी अभिनेत्रीका रुपमा चिनिने अवसर पाएकी छिन् ।
वर्षाले अभिनय गरेको फिल्म ‘परदेशी २’ यो वर्ष सुपरहिट भएको छ । नारायण रायमाझी निर्देशित यो पारिवारिक तथा सामाजिक फिल्मले दर्शकको मन मात्र जितेन, वर्षाको कामको पनि तारिफ भइरहेको छ । उनले फिल्ममा निर्वाह गरेको लुजा पात्रको भूमिकालाई दर्शकले रुचाएका छन् ।
दशैँको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि वर्षालाई ठूलो राहत मिलेको छ । आउँदो वर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ । यो फिल्ममा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ । यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ । कलाकारको हरेक वर्ष रिलिज हुने सबै फिल्म चल्छन् भन्ने पक्का हुँदैन । तर, कुनै एक फिल्म मात्र बक्स अफिसमा सफल हुँदा करिअरलाई ठूलो फाइदा मिल्छ । लामो समयपछि वर्षालाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ ।
नारायण रायमाझी र राजेश वंशलको निर्माण रहेको फिल्म यतिबेला तेस्रो सातामा प्रदर्शनरत छ ।
फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझीलगायतका कलाकार मुख्य भूमिकामा छन् ।