२५ असार २०८३, बिहीबार

‘‘दिमाग खराब’ साधारण मान्छेको कथा हो’

कात्तिक २०, २०८०
काठमाडौं
‘‘दिमाग खराब’ साधारण मान्छेको कथा हो’

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । 

तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रमार्फत बस्नेतले झन्डै ७ वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेका छन् । 

यो चलचित्रलाई निकै प्रतीक्षित रुपमा हेरिएको छ ।

प्रचार सामग्रीलाई लिएर धेरैले यसलाई राजनीतिक चलचित्र भएको अनुमान गरेका छन् । निर्देशक बस्नेत भने यो राजनीतिक विषयवस्तुमा आधारित चलचित्र नभएको बताउँछन् । 

‘यो राजनीतिक चलचित्र होइन । एउटा साधारण मान्छेको कथा हो । साधारण मान्छेले आफ्नो जीवनमा के कस्ता कुराहरू भोग्दै जान्छ भन्ने कथा हो’ चलचित्रबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा उनले भने – ‘एउटा व्यक्तिको भोगाइको वरिपरि परिवार छ । त्यो भन्दा बाहिरको लेयरमा समाज छ । समाजभन्दा माथि हाम्रो सिस्टम छ । एउटा मान्छे यी सबै कुराहरूसँग जोडिन्छ ।’ 

उनी हरेक मान्छेसँग राजनीति कुनै न कुनै रुपमा जोडिने बताउँछन् । हामीले सिधा रुपमा राजनीति नगरे पनि राजनीतिसँग चाहेर वा नचाहेरै पनि ठोक्किने गरेको उनको धारणा छ । 

बस्नेतले भने, ‘राजनीतिले कसरी हरेक व्यक्तिको जीवनमा असर पारिरहेको हुन्छ ? राजनीतिज्ञबाट कस्तो खालको समाधानको अपेक्षा गर्छौ ? उहाँहरूको कामलाई हामीले कसरी रियाक्ट गर्छौ ? भन्ने चलचित्रले देखाउँछ ।’

सामान्य मान्छेको संघर्षको कथा चलचित्रले पेस गर्ने उनले बताए । लामो तयारीपछि मेहनतका साथ चलचित्र बनाएको बताउँदै उनले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । 

‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायतको अभिनय छ । 

चलचित्रको निर्माता रौनक विक्रम कंडेल हुन् । आकाश बरालले यसको कथा लेखेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्