
यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुुँदा त्यति रकम बराबरको आयात भएको हो ।
नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।
महासङ्घका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् । महासङ्घका अनुसार चालुु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ६ करोड ६० लाख रुपियाँ बराबरको आयात भएको खबर गोरखापत्रमा छापिएको छ।