
गायक शिव परियारले भूकम्प पीडितका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् ।
उनले क्यानडास्थित नेपाली संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसीसीएस)को अभियानमार्फत सहयोग रकम हस्तान्तरण गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘नेपालको पश्चिमी क्षेत्र जाजरकोटमा गएको विनाशकारी भूकम्पमा परी जनधनको क्षति व्यहोरिरहनुभएका नेपाली दाजुभाइ–दिदीबहिनीको पीडामा मल्हम लगाउन सकुँ भनि म गायक शिव परियार सहयोग स्वरूप नेपाली ५० हजार रूपैयाँ सहयोग गर्दछु’ उनले लेखेका छन् ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर १५४ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते छन् । विभिन्न व्यक्ति र संघसंस्थाले समेत भूकम्प पीडितका लागि राहत संकलन तथा वितरण गरिरहेका छन् ।