२३ असार २०८३, मंगलबार

‘दिमाग खराब’ आजबाट दोस्रो सातामा, अहिलेसम्म कति कमायो ?

मंसिर १, २०८०
काठमाडौं
‘दिमाग खराब’ आजबाट दोस्रो सातामा, अहिलेसम्म कति कमायो ?

तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ शुक्रवारबाट दोस्रो सातामा प्रवेश गरेको छ । 

निश्चल बस्नेत निर्देशित चलचित्रले हलमा दर्शकको राम्रो साथ पाइरहेको छ । 

‘वर्ड अफ माउथ’ अब्बल रहेका कारण हलमा दर्शकहरुको भीड देखिन्छ । बिहीवार पनि अधिकांश मल्टिप्लेक्स हाउसफुल थिए । 

दर्शकको उत्साहजनक उपस्थितिका साथ चलचित्र दोस्रो सातामा प्रवेश गरेको हो । 

चलचित्रको कमाइ भने सार्वजनिक गरिएको छैन । तिहारको विदाका सबै ठाउँको रिपोर्ट नआएकाले कलेक्सन सार्वजनिक नगरिएको काठमाडौं वितरक काफिया फिल्मसका गोविन्द शाहीले बताए । 

‘चलचित्रले राम्रो व्यापार गरिरहेको छ । तर, तिहार विदाका कारण सबै ठाउँबाट कलेक्सनको रिपोर्ट आइसकेको छैन । सायद, भोलिसम्म आउँछ होला, त्यसपछि सार्वजनिक गर्छौ’ उनले भने । 

दर्शक बढिरहँदा पनि हलले पर्याप्त शो नदिएको भन्दै चलचित्रको निर्माण पक्षले शुक्रवारबाट प्रदर्शन रोक्ने निर्णय लिएको थियो । ​

बिहीवार भएको हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघसँगको छलफल सकारात्मक भएपछि चलचित्रको प्रदर्शन मंगलवारसम्म नरोक्ने सहमति भएको छ । 

मंगलवार बाँकी बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको हुँदा चलचित्रको प्रदर्शन त्यतिन्जेलसम्म नरोकिने निर्णय भएको चलचित्र संघले जारी गरेको विज्ञप्‍तिमा उल्लेख छ । 

यो चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराललगायतको शीर्ष अभिनय छ । 

चलचित्रको निर्माता रौनक विक्रम कंडेल हुन् ।

salt training

कमेन्ट गर्नुहोस्