
विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ ।
आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको चार तारे होटलको लगानी ५० करोड रुपैयाँ रहेको छ ।
नेपालमा पहिलो गोल्डेन टुलिप होटल सानिभा इन बुटिक होटल एण्ड स्पाका सीईओ सन्तोषकुमार केसी र सरोबर होटल एण्ड रिसोर्ट्सका प्रबन्ध निर्देशक अशोककुमार बकायाबीच व्यवस्थापन सम्झौतामा शुक्रवार हस्ताक्षर भएको छ ।
सानिभा इन बुटिक होटल एण्ड स्पाका सीईओ सन्तोषकुमार केसीले द्रुत गतिमा पूर्वाधारको काम अघि बढेको बताए ।
‘फागुन २०७९ मा शुरू गरेर तीव्ररुपमा काम भैरहेको छ’, उनले भने, ‘अबको एक वर्षमा होटल सञ्चालनको तयारी छ । होटलमा ५२ भन्दा बढी कोठाहरू रहनेछन् ।’
होटलमा रुफ टप बार, स्वीमिङ पुलसहित अत्याधुनिक फिटनेस सेन्टर, स्पा, अत्याधुनिक बैठक कक्षहरू रहने छन् । जसले होटललाई सम्मेलन, सेमिनार र विशेष कार्यक्रमहरूको लागि एक आदर्श विकल्प बनाउने उनको भनाइ छ ।
उनका अनुसार एक मनोरञ्जन क्षेत्र र एक क्यासिनो पनि निकट भविष्यमा नै सञ्चालनमा ल्याउने योजना रहेको छ ।
नेपालमा सरोबर समूहको होटलहरू बढ्दो पाइप लाइनमा छन् । जसमध्ये सरोबर पोर्टीको वीरगन्ज, रोयल टुलिप सौराहा चितवन र मिराज सरोबर पोर्टीको काठमाडौं मा २०२४/२५ सम्म खोल्ने तालिका रहेको छ ।
सरोबर होटल एण्ड रिसोर्ट्सका सीईओ अशोककुमार बकायाले पर्यटनबाट विकासको ढोका खोल्न सकिने भएकाले नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको बताए ।
गोल्डेन टुलिप भैरहवा सरोबर होटल्स् एण्ड रिसोर्टको बढ्दो पोर्टफोलियोमा १२ औं तथा नेपालमा पहिलो गोल्डेन टुलिप हुनेछ ।
मे २०२४ सम्ममा पूर्ण सञ्चालनमा ल्याउने योजना रहेको यो होटल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटर टाढा अवस्थित छ ।
दुई उत्कृष्ट रेष्टुरेण्टहरूले पाक शास्त्रिक यात्रा प्रदान गर्नेछन् ।