०२ असार २०८३, मंगलबार

नेपाली चलचित्र ‘दान्भी’मा भारतबाट भाडामा ल्याएर प्रयोग गरिएको थियो ‘मेसिनगन’

पुस ५, २०८०
काठमाडौं
नेपाली चलचित्र ‘दान्भी’मा भारतबाट भाडामा ल्याएर प्रयोग गरिएको थियो ‘मेसिनगन’

लभस्टोरी चलचित्रका लागि रुचाइएकी अभिनेत्री पूजा शर्माले ‘दान्भी’ चलचित्रमा पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् । 

वर्ष २०२४ भित्र प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा उनको भरपूर एक्सन दृश्यहरू समावेश छन् । चलचित्रमा उनले मेसिनगन समेत चलाएकी छन् । 

मेसिनगन लिएको पोस्टरलाई लिएर पूजा ट्रोलको सिकार समेत बनेकी थिइन् । कतिपयले मेसिनगन लिँदा पूजाको हाउभाउ नमिलेको भन्दै आलोचना गरेका थिए । केहीले पूजाले बोकेको मेसिनगनलाई काठको समेत भन्न भ्याएका थिए । बलिउड चलचित्र ‘एनिमल’ प्रदर्शनमा आउने र पूजाको चलचित्रको पोस्टर एउटै समयमा आउनुले कतिपयले ‘एनिमल’को मेसिनगनसँग तुलना गरेर समेत टीकाटिप्पणी गरेका छन् ।​

​यतिबेला ‘दान्भी’को टिजर युट्युबमा आइसकेको छ । र, टिजरमा पूजाले मेसिनगन चलाएको दृश्यलाई समावेश गरिएको छ ।

यो चलचित्रका निर्देशक रुपेश तामाङका अनुसार उक्त मेसिनगन भारतबाट भाडामा झिकाएर प्रयोग गरिएको हो । यद्यपि, त्यसका लागि त्यति सहज भने नभएको उनले बताए । 

चलचित्रको कथामा प्रहरी, प्रहरीको पोसाक वा चलचित्र छायांकनका लागि आवश्यक पर्ने नक्कली हात हतियारको प्रयोग गर्दा प्रहरीसँग अनुमति लिनुपर्छ । प्रहरी प्रधान कार्यालयले निर्णय लिन नसके उसले गृह मन्त्रालयमा पठाउने गरेको छ । 

‘भारतबाट मेसिनगन ल्याउनका लागि त गृह मन्त्रालयबाट अनुमति लिनुपर्यो । त्यसको प्रक्रियाका लागि पनि समय लाग्ने, साथै झन्झट समेत हुँदोरहेछ’ निर्देशक तामाङले भने, ‘हामीले मेसिनगन समयमा ल्याउन नसक्दा एक महिना सुटिङ नै रोक्नुपरेको थियो ।’ 

प्रतिदिन एक लाख भारू तिर्नेगरि उक्त मेसिनगन ल्याएर प्रयोग गरिएको निर्माण टिमले जनाएको छ ।

निर्माण टिमको दाबी अनुसार यस किसिमको मेसिनगनको प्रयोग नेपाली चलचित्रमै पहिलोपटक हो ।

एक्सन चलचित्रमा दर्शकलाई फरक खालको स्वाद दिने प्रयास अनुरूप भरपूर मेहनत गरिएको निर्देशक तामाङ बताउँछन् ।

श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको यो चलचित्रमा पूजाको अपोजिटमा कुन्साङ बोन्जन छन् । 

पूजाले फेरि पनि एक्सन चलचित्रमा काम गर्ने योजना बनाएकी छन् । 

चलचित्रको टिजर :
 

salt training

कमेन्ट गर्नुहोस्