
नेपाली फिल्म ‘चित्रा’को राजधानीमा प्रिमियर गरिएको छ । सोमवार बेलुका गरिएको प्रिमियरमा फिल्मकर्मीदेखि सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रह्यो ।
गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदीप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत प्रिमियरमा उपस्थित रहे । प्रिमियरपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अधिकांशले फिल्म राम्रो बनेको र कथा मन परेको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू अभिनेता सन्तोष अधिकारीको काम डेब्यू अभिनेताको जस्तो नभइ काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए । ‘हेर्दाखेरी नव–नायकको अभिनय भन्ने देखिँदैन, भाइलाई बधाई भन्न चाहन्छु’, भुवनले भने । यसैगरी उनले प्रमोद अग्रहरीको पनि तारिफ गरे ।
केसीले फिल्म रमाइलो लागेको बताउँदै आफू इमोशनल समेत बनेको बताए । यसैगरी आफूलाई फिल्मको कथा मन परेको भन्दै अभिनेत्री गौरी मल्लले छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित भएको बताइन् ।
यस्तै, निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डेब्यू अभिनेता सन्तोषलाई राम्रो काम गरेकोमा बधाई दिइन् । उनले पनि बाल कलाकार आयुशी ढकाल र अभिनेत्री सिम्रन खड्काको तारिफ गरिन् ।

त्यसैगरी निर्देशक नरेश पौड्यालले डेब्यू अभिनेता अधिकारीले फिल्ममा ‘इमोशन’मा विविधता दिएको भन्दै तारिफ गरे । उनले अन्य कलाकारको काम राम्रो रहेको बताउँदै प्रमोद र सिम्रन खड्काको अभिनय निकै राम्रो लागेको बताए । यस्तै किसिमको समान प्रतिक्रिया प्रिमियरमा सहभागीहरूको थियो ।
घनश्याम लामिछाने निर्देशित फिल्म पौष २७ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
पारिवारिक कथा पेस गर्ने यो फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको अभिनय छ ।
महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ । चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ ।

फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।
आगामी शुक्रवार फिल्म प्रदर्शनमा आउनेछ ।