
अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्ममा गायक प्रकाश सपूत र गायिका शान्तिश्री परियारको गीत रहने भएको छ ।
फिल्म ‘पूजार सार्की’को गीतमा लोकदोहोरी क्षेत्रका चर्चित गायक–गायिकाले स्वर दिएका हुन् । प्रकाश र शान्तिश्रीले सहकार्य गरेका थुप्रै लोकदोहोरी गीत निकै रुचाइएका छन् ।
शनिवार रेकर्डिङ भएको फिल्मको उक्त गीतमा हर्क साउदको शब्द, सुबास भुसालको संगीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको फिल्मका निर्देशक दिनेश राउतले बताए ।

गीतको बोल भने खुलाइएको छैन ।
यो फिल्ममा आर्यन, प्रदीप र पलका साथमा अभिनेत्रीहरू अन्जना बराइली र परीक्षा लिम्बुले शीर्ष भूमिकामा अभिनय गर्दैछन् ।
विकास सुवेदीको लेखन रहेको ‘पूजार सार्की’लाई सुवास भुसालले निर्माण गर्दैछन् ।
स्टार अभिनेताहरूबीच हुन लागेको सहकार्यलाई फिल्म क्षेत्रमा चासोका साथ हेरिएको छ ।