
सुपरहिट गीतहरू ‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘मिलेको जिउ छिनेको कम्मर’, ‘बाफ’ लगायतका गायक सुजन चापागाईँ फिल्म ‘बलिदान’मा जोडिएका छन् ।
सुजनसँगै उनको साङ्गीतिक संस्था आर्टमाण्डु टिमका सदस्यहरू गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि ‘बलिदान’मा आबद्ध भएका छन् । फिल्मका गीत तथा ब्याकराउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा सङ्गीत तथा स्वर र ब्याकराउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन् ।
नेपाली फिल्ममा सम्भवतः पहिलो पटक यसरी एक टिमलाई नै सङ्गीतको जिम्मेवारी दिइएको हो । यसअघि सुजनले केही फिल्मको लागि फुटकर गीतहरूमा आवाज दिएता पनि पहिलो पटक सबै जिम्मेवारी लिएका हुन् ।
दर्शक तथा श्रोताका लोकप्रिय गायक तथा सङ्गीतकारलाई फिल्ममा आबद्ध गराउन निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समयदेखि छलफल गरिरहेका थिए । टिमको आबद्धतासँगै हाल गीत सङ्गीतको विषयमा कार्यशाला भइरहेको छ । निर्देशक सेनले फिल्मको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने जानकारी दिए ।
सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई चर्चामा छ । आसुसेन फिल्मसको ब्यानरमा बन्न लागेको फिल्ममा कलाकारहरूको विषयमा भने केही खुलासा गरिएको छैन ।
आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने फिल्मको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित छन् ।