
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् ।
रमित ढुंगानाको 'नमेटिने घाउ' नामक चलचित्रमा उनले अभिनय गर्न लागेका हुन् ।
आइतवार काठमाडौंको नयाँ बानेश्वरमा फिल्मको औपचारिक घोषणा कार्यक्रममा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने जानकारी दिइएको हो ।
चलचित्रको औपचारिक घोषणा कार्यक्रममा ओली पनि पुगेका थिए ।
निर्माण टोलीका अनुसार 'नमेटिने घाउ' चलचित्र एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो ।
ओली प्रधानमन्त्री रहेको समयमा सरकारले एसिड आक्रमणविरुद्धको कानून अध्यादेशमार्फत ल्याएको थियो । प्रधानमन्त्रीको सो भूमिकालाई चलचित्रमा देखाउन लागिएको निर्माण पक्षले जनाएको छ ।
एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने चलचित्रलाई अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन् ।