
विश्व कुष्ठरोग दिवस आइतबार देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएका छ । ‘कुष्ठरोगसम्बन्धी गलत अवधारणाको अन्त्य गरी मर्यादित व्यवहार गरी’, भन्ने मूल नारासहित ७१औँ विश्व कुष्ठरोग दिवस मनाइएको हो ।
दिवसका अवसरमा स्वास्थ्य सेवा विभागद्वारा आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताए ।
“अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित छन् । कुष्ठप्रभावित व्यक्तिले लाञ्छना, भेद्भाव र स्वास्थ्य सेवामा पहुँचको अभावको सामना गरिरहेका छन् । यसलाई रोकी कुष्ठरोग अन्त्य गर्न सरकार तथा सबै सरोकारवाला निकायको तत्काल पहल र प्रतिबद्धताको आवश्यकता छ”, डा मरासिनीले भने ।
विश्व कुष्ठरोग दिवस फ्रान्सका प्रसिद्ध मानवतावादी रावल फोलेरियोले कुष्ठरोगको समुचित उपचार गरी निवारण गर्ने, जनचेतनाको माध्यमबाट कुष्ठरोग नियन्त्रण र न्यूनीकरण गर्ने तथा कुष्ठरोग प्रभावितप्रतिको भेद्भावलाई हटाउने उद्देश्यले सन् १९५४ देखि थालनी गरिएको हो । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा प्रशन्न नापितका अनुसार कुष्ठरोग माइकोब्याक्टेरियम ‘लेप्रे’ नामको सुक्ष्म जीवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।
नेपालमा २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण (प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा कम बिरामी) भएको घोषणा गरेको थियो । उक्त समयमा राष्ट्रियस्तरमा कुष्ठरोगको प्रकोप दर शून्य दशमलव ७७ प्रतिशत थियो । कुष्ठरोग नियन्त्रण शाखाका अनुसार आर्थिक वर्ष २०७९÷८० को अन्त्यसम्म शून्य दशमलव ८५ रहेको छ भने १४ जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा धेरै बिरामी छ । निवारणको घोषणा पश्चात् हालसम्म पनि राष्ट्रियस्तरमा निवारणको अवस्थामा कायम रहेको छ ।
शाखाको तथ्याङ्क अनुसार हरेक वर्ष नेपालमा दुई हजार पाँच सयदेखि तीन हजारको हाराहारीमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गर्दछ । कुष्ठरोग नियन्त्रणका लागि सरकारले सक्रिय बिरामीको खोज पड्ताल, कुष्ठरोग रोकथाम, जनचेतनामूलक तथा क्षमता अभिवृद्धि, असमर्थक व्यवस्थापन तथा पुनः स्थापन र बहु औषधिको व्यवस्थापनको कार्यक्रम सञ्चालन गरिरहेको छ ।