०७ असार २०८३, आइतबार

फिल्म ‘दयारानी’मा नि:सन्तान दम्पतीको कथा, ट्रेलर सार्वजनिक

माघ १५, २०८०
काठमाडौं
फिल्म ‘दयारानी’मा नि:सन्तान दम्पतीको कथा, ट्रेलर सार्वजनिक

दयाहाङ राई र दीया पुन अभिनीत फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले यो फिल्म पारिवारिक कथामा आधारित रहेको बुझाउँछ । 

झण्डै २ मिनेट ३५ सेकेन्डको ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएको र त्यसपछि उनकी श्रीमती दीयाले दोस्रो विवाह गर्ने कुरा गरेपछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ । 

यसका अलावा आफ्नो कमजोरी लुकाउन दोस्रो विवाह टार्दै आएका दयामाथि अर्को एक युवतीले आफ्नो सन्तानको बाबु भएको आरोप लगाएको प्रसङ्गलाई समेत ट्रेलरमा देखाइएको छ । 

यी दुई घटनाक्रमको उतारचढाव ट्रेलरमा देख्न सकिन्छ । फिल्मले नि:सन्तान दम्पतीको कथा पेस गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । 

माओत्से गुरुङको डेब्यू निर्देशन रहेको फिल्म माघ २६ गते रिलिज हुँदैछ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका साथमा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको पनि अभिनय छ । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । 

फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्