२५ असार २०८३, बिहीबार
बाँसबारी जग्गा हिनामिना प्रकरण

चौधरी समूहले जालसाजी गरेर हडपेको जग्गाको मूल्य झण्डै २ अर्ब [भाग- ४ ड्रोन भिडियोसहित]

माघ २४, २०८०
काठमाडौं
चौधरी समूहले जालसाजी गरेर हडपेको जग्गाको मूल्य झण्डै २ अर्ब [भाग- ४ ड्रोन भिडियोसहित]

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल ।

विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कूल त्यही १० रोपनी जग्गामा अवस्थित छ, जुन विनोद चौधरीलगायतले विभिन्न तिकडम गरी हडपेका थिए ।

महाराजगञ्ज चोकबाट झण्डै डेढ किलोमिटरको दूरीमा रहेको बाँसबारीलाई अहिले 'प्राइम लोकेसन' मानिन्छ । भीआईपी बस्ती र बढ्दो सेवा सुविधाका कारण यस क्षेत्रमा जग्गाको मूल्य छोइनसक्नु छ ।

जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको कुरालाई आधार मान्दा विनोद चौधरी र उनको परिवारले हडपेको सो जग्गाको हालको मूल्य २ अर्ब हाराहारीमा पर्ने देखिएको छ । काठमाडौं महानगरपालिका– ३ का वडाध्यक्ष प्रेम थापाले सो जग्गाको मूल्य प्रतिआना १ करोडभन्दा माथि रहेको बताए ।

'मुख्य बाटोनेर प्रतिआना १ करोडभन्दा माथिमा कारोबार भइरहेको छ भने अलि भित्रपट्टि ८५ लाखमा किनबेच हुँदै आएको छ,' वडाध्यक्ष थापाले लोकान्तरसँग भने, 'हडपिएको जग्गा सरकारको नाममा फिर्ता ल्याउन स्थानीय तहले धेरै प्रयास गरिरहेको छ ।'

१ करोड मात्रका दरले हिसाब गर्ने हो भने पनि यसको मूल्य १ अर्ब ६० करोडभन्दा माथि पुग्छ ।

१० रोपनी जग्गा गैर-कानूनी रूपमा हडपिएकोमा कुनै शंकै नरहेको र त्यो जग्गासँगै जोडिएको थप ८ रोपनी जग्गा पनि चौधरी ग्रुपले हडप्न खोजेको खुलासा उनले गरे ।

'हामी स्थानीयले आन्दोलन गरेपछि त्यो ८ रोपनी जग्गा उनीहरूले लैजान पाएनन्,' थापाले भने, 'अहिले त्यो ८ रोपनीमा बाँसबारी क्लब रहेको छ । उक्त क्लबमा फ्री जिम गर्न पाइन्छ भने फूटबल पनि खेल्न पाइन्छ ।'

प्रेमकुमार थापा, वडाध्यक्ष, कामनपा-३

जग्गा हत्याउनकै लागि खोलिएको च्याम्पियन फूटवेयर कम्पनी जग्गा आफ्नो नाममा आएपछि ३ वर्षमै बन्द गरिएको उनले खुलाए । ८३ रोपनी जग्गाको स्वामित्व लिएको बाँसबारी छालाजुत्ता कारखाना बहुदल आएपछि निजीकरण भएर भारतीय कम्पनी (जग्गाबाहेक)लाई बेचिएको थियो ।

त्यही ८३ रोपनीमध्ये १० रोपनी चौधरी परिवारले गैर-कानूनी रूपमा कब्जा गरेको हो । ८ रोपनी जग्गा बाँसबारी क्लबका नाममा रहेको र बाँकी जग्गा गंगालाल हृदयरोग केन्द्रले भोगचलन गरिरहेको वडाध्यक्ष थापाले बताए ।

गैर-कानूनी रूपमा हडपिएको जग्गाको ड्रोन भिडियो लिँदै हामीले केही स्थानीयसँग पनि कुरा गरेका थियौं । ८० वर्षीय स्थानीय सीताराम कार्कीले आफूहरूको ५ रोपनीभन्दा बढी जग्गा सरकारले अधिग्रहण गरेको र त्यो जग्गा गैर-कानूनीरूपमा चौधरी ग्रुपले लिएको भन्ने आफूले सुनेको बताए ।

कम्पाउन्डभित्र हडपिएको जग्गा

'सरकारले २०१८ सालमा २/३ सय रुपैयाँमा हाम्रो जग्गा अधिग्रहण गरेको थियो, त्यो मलाई याद छ,' उनले भने, 'अहिले त्यही जग्गामा चौधरीहरूले स्कूल चलाएका छन् । उनीहरूले कसरी जग्गा लिए भन्ने धेरै जानकारी छैन । तर, सरकारको जग्गा व्यक्तिले लिएको हो भने त्यो तत्काल फिर्ता गर्नुपर्छ ।'

सीताराम कार्की, स्थानीय

स्थानीय विदूर कार्कीले उक्त जग्गा गैर-कानूनी रूपमा हडपिएको र स्थानीयबासीले जग्गा फिर्ता गराउन मागसहित बारम्बार आन्दोलन गरिरहेको बताए ।

'३ नम्बर वडाका स्थानीयहरूले सिग्नेचर क्याम्पेन नै चलाएका थियौं र सीआईबीलाई उजुरी पनि हालेका थियौं । सोहीअनुसार अहिले अनुसन्धान भइरहेको छ । तर, पक्राउ परेकालाई अदालतले छिट्टै छाड्न आदेश पनि दिएको रहेछ, माफियाहरू छुट्ने हुन् कि भनेर मलाई शंका लागेको छ ।'

विदुर कार्की, स्थानीय

२०१८ सालमा बाँसबारी छालाजुत्ता कारखाना खोल्ने प्रयोजनका निम्ति सरकारले ८३ रोपनी जग्गा स्थानीयबाट अधिग्रहण गरेको थियो । सोही जग्गा हत्याउने प्रयोजनका निम्ति डलर अर्बपति विनोद चौधरीको पहलमा चौधरी ग्रुपले च्याम्पियन फूटवेयर कम्पनी खोलेर १० रोपनी जग्गाको साटो २५ सय कित्ता शेयर बाँसबारी छालाजुत्ता कारखानाको नाममा गरिदिने अवैध निर्णय गराइएको थियो ।

सम्झौताविपरीत २ हजार कित्ता शेयर मात्र बाँसबारी छालाजुत्ता कारखानालाई दिएको कम्पनीको शेयर सदस्यमा विनोद चौधरी, उनका भाइ अरुण चौधरी (जो यस प्रकरणमा पक्राउ पनि परे) लगायत थिए । विनोद र अरुण दुवैको नाममा प्रतिकित्ता हजार रुपैयाँ समान २०० कित्ता शेयर रहेको विवरण लोकान्तरले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

अहिले विनोदका सहोदर भाइ अरुण चौधरी र उनकी श्रीमतीको नाममा रहेको सीजी चाँदबाग रेजिडेन्सी त्यतिबेला गैर-कानूनी रूपमा हडपिएको १० रोपनी जग्गामा छ ।

भाइको कम्पनीको नाममा रहेको जग्गामा विनोद चौधरीले सीजी चाँदबाग स्कूल सञ्चालन गरेका छन् ।

पक्राउ परेका तीन जना हिरासतमुक्त

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशानुसार चौधरीसहित बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी प्रमुख अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी बुधबार जमानीमा रिहा भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले तीनैजनालाई हाजिरी जमानीमा छाडिएको जानकारी दिए ।

'जिल्ला अदालत काठमाडौंको आदेशअनुसार हाजिरी जमानीमा आज तीनै जनालाई छाडिएको छ, यद्यपि सो प्रकरणको अनुसन्धान भने जारी छ', उनले भने ।

गत सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानमा सहयोग गर्नेगरी हाजिरी जमानीमा छाडी बाँकी अनुसन्धान पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा निजीकरण गर्न खोजिएको भन्दै ब्यूरोले उनीहरूलाई पक्राउ गरेको थियो ।

विनोद चौधरी संलग्न रहेको भन्दै संसदमा मागियो कांग्रेसको जवाफ

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको संलग्नता रहेको बताएका छन् ।

यस सम्बन्धमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न उनले कांग्रेसको ध्यानाकर्षण गराए । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद सुवालले उद्योगीको भेषमा चौधरी ग्रुपले बाँसबारीको जग्गा हडपेको सम्बन्धमा कांग्रेसको धारणा माग गरे ।  

‘उद्योगी व्यापारीको भेषमा चौधरी ग्रुपका अरुण चौधरीले तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा हत्याएको र सो विषयमा यस संसद्का सदस्य (विनोद चौधरी) समेतको संलग्नता भएको हुनाले सम्बन्धित दल नेका (नेपाली कांग्रेस)ले स्पष्ट पार्न अनुरोध गर्दछु,’ सुवालले भने । 

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताए । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा महामन्त्री थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेहरूले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।

‘जुनसुकै दलको होस्, बाहिरको होस्, जतिसुकै शक्तिशाली होस्, कसैले उन्मुक्ति पाउनुहुन्न । एउटा नागरिकले जे गर्दा दण्ड पाउँछ, शक्तिशालीलाई पनि त्यो कानून त्यसैगरी लागू हुनुपर्छ । नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन ? दण्ड पाउनुपर्दैन ?’ थापाले भने ।

सरकारले सुशासनका लागि गरेका काममा संसद्‌ले समेत साथ दिनुपर्ने उनले बताए । ​​​​

हेर्नुहोस्, भिडियो :

हेर्नुहोस्, सम्बन्धित समाचार :

ललितानिवासमा स्थापित तथ्य : बाँसबारी जग्गा घोटालामा विनोद चौधरी उम्किने ठाउँ छैन [भाग- ३]

बाँसबारीको जग्गा हडप्दा शेयरमा अरुण बराबरकै हिस्सेदार थिए विनोद चौधरी [प्रमाणसहित] भाग- २

बाँसबारी जग्गा प्रकरण– हडपेको जग्गा भाइलाई सुम्पेर विनोद चौधरी उम्किन मिल्छ ? [भाग- १]
 

salt training

कमेन्ट गर्नुहोस्