
फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीत ‘फूल’ युट्युबमा ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ ।
युट्युबमा संगीततर्फ ट्रेन्डिङ वानमा रहेको गीतलाई रिलिजको एक सातामा १३ लाख भन्दा बढी पटक हेरिएको छ । गीतमा प्रतिक्रियाहरू समेत सकारात्मक आएका छन् । गीतमा आएका हरेक प्रतिक्रियाले आफ्नो टिमलाई उत्साहित बनाएको गायक सुजन चापागाईं बताउँछन् । ‘फिल्म घोषणा गर्दा सानो अंश सार्वजनिक गरेका थियौं । त्यतिबेला दर्शक स्रोताको एकदमै माया पायौं,’ उनले भने, ‘सबैले पूरा भर्सन पर्खिरहनु भएको थियो । फूल भर्सन कसरी राम्रो बनाउने भन्ने चुनौती थियो । तर यो पनि धेरैले मन पराइदिनु भयो । हामी उत्साहित छौँ ।’
यो गीतमा हर्क साउदका शब्द, सुजनको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ । मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ ।
अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ । लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो । भारतीय मेकअप आर्टिस्ट अयाज् शेख फिल्मका मेकअप आर्टिस्ट हुन् । ‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो ।
फिल्ममा विपीन र मिरुना प्रमुख भूमिकामा रहनेछन् । त्यसैगरी माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक चौहानले नै लेखेका हुन् ।
फिल्म वैशाखबाट फ्लोरमा जानेछ । फिल्मलाई पाँचथरमा खिचिने निर्माण पक्षले जानकारी दिएको छ ।