जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका छन् ।
कवाड व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउन महानगरको पुरानो कार्यालय बागदरबार पुगेका डा. राउतले कवाड सोच भएका नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका हुन् ।
'कवाड व्यवसायीहरूको आन्दोलनमा जनमत पार्टीको तर्फबाट ऐक्यबद्धता छ । कवाड व्यवसायीलाई होइन, कवाड सोच भएका कवाड नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्ने हो', उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'कवाड व्यवसायीले काठमाडौं सफासुग्घर पारेका छन्, काठमाडौं त भ्रष्ट नेताहरूले डुङडुङती गन्हाउने बनाएको हो ।'
कवाड व्यवसायीहरूको आन्दोलनमा #जनमत पार्टीको तर्फबाट एकबद्धता| कवाड व्यवसायीलाई होइन, कवाड सोच भएका कवाड नेताहरूलाई काठमांडूबाट विस्थापित गर्ने हो| कवाड व्यवसायीले काठमाडौं सफासुग्धर पारेका छन्, काठमाडौं त भ्रष्ट नेताहरूले डुङडुङती गन्हाउने बनाएको हो: डा सी के राउत pic.twitter.com/uvdvK5Z2DS
— Dr. CK Raut (@drckraut) March 3, 2024
काठमाडौं महानगरपालिकाले व्यवसायीहरूप्रति दमन गरेको भन्दै कवाडी व्यवसायीहरू निरन्तर प्रदर्शनमा छन् ।
अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर्नुपर्ने, अदालतको निर्णयको कार्यान्वयन गर्नुपर्ने लगायतका काम राखेका छन् ।
आफ्नो क्षेत्रभित्र कतै पनि कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै महानगरले कवाडी संकलन केन्द्रका लागि बनाएका टहरामा डोजर चलाएपछि उनीहरू आन्दोलित बनेका हुन् ।