१६ असार २०८३, मंगलबार
सन्दर्भ : सत्ता समीकरण अदलबदल

महासमिति बैठकपछिको कांग्रेस र गठबन्धनको जात्रा

फागुन २४, २०८०
काठमाडौं
महासमिति बैठकपछिको कांग्रेस र गठबन्धनको जात्रा

सामान्यतया राजनीतिलाई समाजको वृहत्तर हितका लागि अपनाइने बाटो या माध्यम मानिन्छ । यसले समग्र समाजको हितलाई आफ्नो प्राथमिकताको केन्द्रविन्दु बनाउँछ । तर, हाम्रो हकमा यसको मान्यता र परिभाषा फरक छ । यतिबेला नेपालको राजनीतिक परिदृश्य बदलिएको छ । नेपाली राजनीतिलाई बायाँ हातको खेल ठान्ने र राजनीतिमा जे गरेपनि हुन्छ भन्ने मनोविज्ञान भएका पेशेवर राजनीतिज्ञका कारण सत्ता गठबन्धन भत्किँदै/बन्दै गर्न थालेको छ, हाम्रा लागि यो नौलो कुरा भएन, किनभने राज्य र सरकार जनहितमा चल्नुपर्छ भन्ने हेक्का नराख्नेहरू वर्तमान राजनीतिमा नराम्ररी हावी भएका छन् । त्यसैले पुनः एकपटक नेपालको सत्ता राजनीतिमा भित्रभित्रै पाकिरहेको खिचडी ढाक्ने च्याङ्लो पर्दा उघ्रिएको छ, अर्थात् पटाक्षेप भएको छ । दलकेन्द्रित र अझ स्वार्थकेन्द्रित राजनीतिको नयाँ संस्करण हाम्रो सामु आएको छ ।

सतहमा देश र जनताको एकसूत्रीय रटान एवं अन्तर्यमा राजनीतिक व्यापार समकालीन राजनीतिको मौलिक चरित्र हो भन्दा फरक पर्दैन । यस सन्दर्भमा एउटा नीति श्लोक राम्रोसँग मेल खान्छ, जो कालजयी छ, 'एक लज्जां परित्यज्ज सर्वत्र विजयी भवेत ।' तसर्थ, लोकलज्जाका सम्पूर्ण सीमा नाघेर भइरहेका राजनीतिक गतिविधि पटक्कै अनौठा छैनन् र मान्नु पनि हुँदैन । भोलि ६ महिना पुग्दानपुग्दै हामी नेपालीले अर्को सत्ता समीकरण व्यहोर्नुपर्ने सुनिश्चित नै छ ।

नयाँ सरकारी गठबन्धन बनेर शपथ लिएसँगै अर्को सम्भावित समीकरणको चर्चा शुरू भइसकेको छ । गठबन्धन फेरिनुलाई पनि क्रान्ति सम्झिनेहरूबाट मुलुकले कुनै आश नगरे हुन्छ । १५ महिनामा २ पटक गठबन्धन फेर्ने प्रवृत्ति सत्तालोलुप अवसरवादी चरित्रबाहेक अर्थोक केही होइन । यसले नेपाली राजनीतिमा तीव्र रूपले स्खलन भइरहेको नैतिक मूल्य देखाउँछ । यसले नेपाली समाजमा अस्थिरता र अशान्ति थपिने साथै नेपालको ओरालो लागेको यात्रा र अनिश्चित भविष्यलाई संकेत गर्दछ । यस घटनाले प्रजातन्त्रवादी जनमतका लागि एउटा ऐतिहासिक अवसर सिर्जना गरिदिएको छ । अब भेडाभेडासँग र बाख्राबाख्रासँग हुने दिन आएको छ । यस्तो मौका सितिमिति आउँदैन । कांग्रेसले यस अवसरलाई अधिकतम रूपमा सदुपयोग गर्नसक्नुपर्छ ।

महासमिति बैठक

नेपाली कांग्रेसको महासमिति बैठक केही दिनअघि सम्पन्न भएको सर्वविदितै छ । बहुप्रतिक्षित बैठकलाई नीति महाधिवेशन समेतको अभिभारा बोकाइएको थियो, जसले पार्टीको नीति र कार्यक्रम समेत तर्जुमा गर्नुपर्ने जिम्मेवारी थियो । महाधिवेशनपछिको उच्च निकायको रूपमा रहेको महासमितिले के–के गर्‍यो ? पार्टी सदस्यहरू र प्रजातान्त्रिक जनमतका अपेक्षा कति पूरा गर्‍यो या गरेन, इतिहासले समीक्षा गर्ला नै । अहिलेको बहस भने महासमितिको आयोजना, प्रस्तुत भएका प्रस्तावहरू, सम्पन्न छलफल र निकालिएका निष्कर्षहरूमा केन्द्रित गर्नु उपयुक्त हुनेछ । के आयोजनाको उद्देश्य अनुरूप बैठक सफल भयो त ? यस बैठकमा कांग्रेसको भावी मार्गचित्र तयार भयो त ? शिथिल भएका पार्टी संरचना र भ्रातृ संस्थाहरू अब चलायमान र गतिशील हुने भए त ? देशभरिका झन्डै नौ लाख क्रियाशील सदस्यहरू र लाखौं  शुभचिन्तकका पीडा, गुनासा तथा अपेक्षाहरू सम्बोधन हुने भए त ? कांग्रेसका परम्परागत मतदाता र नयाँ पुस्ता ०८४ को आमचुनावका लागि आश्वस्त भए त ? यी र यस्ता अनगिन्ती प्रश्नहरूको सिधा र चित्तबुझ्दो जवाफ वा समाधान भेटियो त ? यसैको सेरोफेरोमा चर्चा गर्नु उपयुक्त हुनेछ ।

यस घटना (गठबन्धन परिवर्तन)ले प्रजातन्त्रवादी जनमतका लागि एउटा ऐतिहासिक अवसर सिर्जना गरिदिएको छ । अब भेडाभेडासँग र बाख्राबाख्रासँग हुने दिन आएको छ । यस्तो मौका सितिमिति आउँदैन । कांग्रेसले यस अवसरलाई अधिकतम रूपमा सदुपयोग गर्नसक्नुपर्छ ।

हामी बेलाबेलामा चलचित्र हलमा गएर वा घरमै पनि सिनेमा हेर्छौं । ती नेपाली, हिन्दी, अङ्ग्रेजी वा जुनसुकै भाषाका हुन सक्छन् । सिनेमा हेर्नुपूर्व र हेरिसकेपछि सम्बन्धित सिनेमाप्रतिको हाम्रो धारणामा समानता रहँदैन । कि त सुनेको भन्दा राम्रो लागेर त्यसको बखान शुरू गर्छौं या त सोचेको भन्दा खराब लागेर कटु आलोचना गर्छौं । राम्रो लागेमा समाजमा प्रचार पनि गर्छौं, खराब भए पैसा खेर गएको प्रचार र गुनासो गर्दै बस्छौं । यो हामी सबैको अर्थात् नेपालीहरूको सनातन र औसत चरित्र पनि हो । महासमितिको हकमा पनि यस्तै भयो ।

बैठकको समापन समारोहबाट निस्कँदा महासमितिका सदस्यहरू बीचमा चलेको खासखुसमा सन्तुष्टि र असन्तुष्टि दुवै झल्कन्थ्यो । पटक–पटक सारिएर अन्ततः सम्पन्न गरिएको बैठक कम्तीमा सम्पन्न भयो । देशभरिका साथीहरू एकैथलोमा भेला भएर पार्टीको अवस्थाका बारेमा छलफल गर्ने मौका पाए र बोल्न चाहने साथीहरूले संक्षेपमा भएपनि आ-आफ्नो धारणा राखे, सुझाव दिए । महाधिवेशनपछिको उच्च निकायका साथीहरूले पार्टी सुदृढीकरणका निम्ति चिन्ता र चासो प्रकट गरे । यसलाई एक हदसम्म सकारात्मक मान्नुपर्छ । र कम्तीमा महासमिति बैठक आयोजना भएको सन्देश विश्वभरी प्रवाहित भयो ।

एउटा कथानक चलचित्रसँग तुलना गर्दा यसका कथा, पटकथा, संवाद, द्वन्द्व, संगीत र समग्रमा कला पक्ष थोरबहुत परम्परागत र थोरबहुत रोमाञ्चक देखिन्थ्यो । र, सिनेमा अन्ततः वियोगान्त निष्कर्षमा पुगेर टुंगियो, हिन्दी सिनेमाको बागवान जस्तै सुखद लागे पनि नमीठो । कहिलेकाहीँ भने सिनेमाको अन्त्य सुखद पनि हुँदैन, नमीठो मात्र हुन्छ । राजनीतिक दलका लागि जनता र पार्टी सदस्य अभिभावक हुन्, जसको मनोभावना बुझेर संस्था चल्नुपर्छ । यदि त्यसो नहुने हो भने तत्पश्चातको राजनीतिक पटाक्षेप पीडादायी हुन्छ नै । महासमितिलाई जति नै सिंगार्न खोजेपनि अन्ततः हर्षोल्लासको वातावरण देखिएन । जति विषयहरू विस्तृत रूपमा उठ्नुपर्थ्यो ,ती विषयले प्रवेश नै पाएनन् ।

गत उपचुनाव किन हारियो र आगामी उपचुनाव कसरी जित्ने ? सत्ता गठबन्धनको कार्यशैली र भविष्य, सुशासनको अवस्था र भ्रष्टाचारजस्ता विषयमा गम्भीरता साथ छलफल नै भएन । भ्रातृ संगठनको अधिवेशनको कुरा त आयो, ती संस्थाहरूको सञ्चालन र परिचालनको योजना र मार्गचित्र आएन । भ्रातृ र शुभेच्छुक संस्था सञ्चालन गर्ने नीति खोइ ? भन्ने प्रश्न जीवित नै रह्यो । र, खासगरी नेपाली जनतामा व्याप्त निराशा र आक्रोशको कारण खोजी गरी सम्बोधन गर्ने जमर्को देखिएन । खासगरी नेपाली लोकतन्त्रका चुनौतीहरू के-के हुन्, तिनिहरूसँग जुध्ने कसरी ? त्यसका लागि कस्तो तयारी गर्ने भन्ने विषय आउँदै आएन । एउटा सर्वाधिक पुरानो राष्ट्रिय पार्टीको उच्च आयोजनाले नेपाली जनतामा आशाको सञ्चार गर्‍यो कि गरेन, यो मूल प्रश्न हो ।

पार्टी उपसभापतिले प्रस्तुत गर्नुभएको नीति र कार्यक्रम सुन्दा र पढ्दा गजबै लाग्छ, तर यो नितान्त परम्परावादी छ र परिणामुखी नहुने निश्चित छ । हामी परम्पराको निरन्तरतामा अटल देखियौं । हामीले आफू सत्तारुढ पनि हौं र आउने निर्वाचनसम्ममा देश र जनतालाई ठोस उपलब्धि दिनुपर्छ भन्ने कुरामा सचेतता देखाएनौं । महासमिति औपचारिक आयोजना मात्र थिएन, आशा र विश्वासको नयाँ प्रस्थानविन्दु (New Departure) पनि थियो । गत चुनावको दलीय गठबन्धनलाई कसिलो र भरपर्दो बनाएर पूरा अवधि टिकाउने र जनअपेक्षा पूरा गर्ने ठोस आधार प्रस्तुत नभएकैले पनि महासमिति लगत्तै गठबन्धन समेत टुटेको छ । भविष्यको कुनै ठेगान नभए पनि नेपाली राजनीतिमा कम्युनिस्ट ध्रुवीकरणको खतरा बढेको छ । यसले समाजको आधारभूत तहसम्म राजनीतिक द्वन्द बढाउने निश्चित छ । यसमा हामी पनि दोषी छौँ । यसलाई निशंकोच स्वीकार्न सक्नु पर्दछ ।

वडाबाटै प्रतिनिधित्व

महासमिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयका प्रस्तावहरूले संगठन तथा नेपाली राजनीतिका समस्या, जटिलता र सुधारको आवश्यकतालाई औंल्याएका छन् । प्रस्तुति प्रभावकारी नै छन् । महासमिति सदस्यहरूको ध्यान खिचेकै छन् । तथापि सुधार र परिवर्तनको ठोस आधारसहितको प्रत्याभूति छैन । पार्टीभित्र अब केही हुन्छ कि भन्ने जनअपेक्षा कायम त छ तर सुनिश्चितता देखिँदैन । प्रस्ताव गरिएर सर्वसम्मतिले पारित गरिएको भनिएको सीमाबन्दी (Term limit ) को १, २, ३, ४ प्रस्ताव नीतिको रूपमा कहिलेदेखि लागू हुन्छ त ? प्रस्तावमा आउने, नीति बन्ने तर लागू नहुने प्रवृत्तिले संस्थालाई कहाँ पुर्‍याउँछ ? यसलाई लागू गर्ने कसले ? यसपटक पनि यस्तै प्रवृत्तिको पुनरावृत्ति हुने देखिएको छ । केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने हालको व्यवस्था हटाएर वडाबाटै निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरिने प्रतिवद्धतालाई सार्थक बनाउन सकिन्छ कि सकिँदैन ? कि यो प्रस्तावको हालत पनि विगतजस्तै हुने हो ? अब यसलाई सार्थक बनाउने समय आएको छ । तर, यसमा आशंका छ ।

समाजका प्रबुद्ध व्यक्तिहरूको कथन छ, इतिहासबाट प्रेरणा लिने र सिक्ने हो । यदि त्यसो हुन सक्यो भने समाजले बाटो बिराउँदैन, राष्ट्रका निम्ति काम गर्ने ऊर्जा कायम रहिरहन्छ र गल्ती दोहोरिँदैन । तर, इतिहासलाई दन्त्यकथा र पुराणजस्तो भट्याइ मात्र रहने हो भने न ऊर्जा रहन्छ, न त हामी पुनः गल्ती गर्नबाट जोगिन्छौं । नेपालको नियति भने विडम्बनापूर्ण छ । हामीमा इतिहासबाट कहिल्यै नसिक्ने र गल्ती दोहोर्‍याइरहने बानी बसेको छ । विश्वभरका लागि यसको गतिलो उदाहरण हामी नेपाली नै हौं । त्यसैले हामीले बारम्बार गोता खाइरहेका छौं, अझ भुक्तमान झेल्न बाँकी नै छ । हामी किन पछौटे, अविकसित र दुःखदायी जीवन भोगिरहेका छौं, यसको कुनै लेखाजोखा छैन र अन्त्य कहिले हुने हो कुनै ठेगान छैन । हामी नेपाललाई २० वर्षभित्र मध्यम आयको देश बनाएर विश्वसामु आफ्नो प्रतिष्ठा बढाउन सक्छौं भन्ने आत्मविश्वास, योजना, नेतृत्व र दृढ अग्रसरताको कमी नै वर्तमान दुरावस्था हो भन्ने कुरामा नेपाली समाजमा कुनै विवाद छैन । जीन र भारतजस्ता विश्व महाशक्ति राष्ट्रको बीचमा रहेको भाग्यमानी राष्ट्र नेपाल आत्मसम्मानपूर्वक उभिएर हिँड्न सक्ने अवस्थामा किन पुगेन भन्ने गम्भीर बहस आजको आवश्यकता पनि हो । तर, हाम्रा बहसहरू घरेलु मामलाभन्दा माथि उठ्नै सकेनन् । घरेलु मामिला समेत दलीय स्वार्थभन्दा माथि उठ्न सकेनन् । दलीय स्वार्थ पनि गुटगत स्वार्थभन्दा बाहिर निस्कनै सकेनन् । हाम्रो कटु यथार्थ यही नै हो । महासमितिको बैठक समेत यसै सेरोफेरोमा अल्झिएर सकिएको छ ।

सनातन हिन्दू राज्य

इतिहासको विकासक्रममा मानव सभ्यताले निकै ठूलो उतारचढाव झेल्नुपर्‍यो । यसैको शृंखलामा राज्य, धर्म र वादहरूको उत्पत्ति भयो । वादहरूमध्येको उत्तम मानिने बहुलवाद (जो मानवतावाद पनि हो) ले लोकतन्त्रको परिकल्पना गर्‍यो । यसैका पछिल्ला कडी हुन्, राजनीतिक दलहरू । राजनीतिक दलहरूले नै लोकतान्त्रिक शासन प्रणालीको प्रतिनिधित्व गर्दछन् । यसअघि संसार धर्मद्वारा शासित थियो । अक्सर मानिसहरू धर्मलाई ईश्वरीय रचनाको रूपमा बुझ्दछन् । तर, धर्म मानिसद्वारा रचित जीवन जिउने सर्वोत्तम विधान हो । यसले अहिंसा, करुणा, दया, परोपकार, सेवा, सत्मार्ग र सदविचारलाई प्रबर्द्धन गर्छ । यसैको माध्यमबाट ईश्वरलाई पाउन सकिने मान्यता राख्छ । अर्को कुरा ईश्वर आलिसान दरबार बनाएर अज्ञातस्थलमा बसेको कुनै मूर्त स्वरूप होइन, जसलाई साक्षात्कार गर्न, भेट्न र बात मार्न सकियोस् । ईश्वर चरम प्रतिभाको बिराट स्वरूप, तीव्र बुद्धिको उत्कर्ष, अतुलनीय, निराकार र अदृश्य त्यस्तो विम्ब हो, जसको बहुआयामिकतासामु मानव सभ्यता नतमस्तक छ । कतिपय महामानवहरूले यसको प्रतिनिधित्व गर्दछन् । हरेक युगमा यस्ता महामानव पैदा भएका छन् । राम, कृष्ण, बुद्ध यसका ज्वलन्त उदाहरण हुन् । हरेक युगमा मानव समाजमा फैलिने र बढ्ने अधर्म, अन्याय, हिंसा र पापको अन्त्यका लागि महामानवहरूको उदय भयो, यसैको दृष्टान्त नै रामायण र महाभारत हो ।

महासमितिको बैठकमा सनातन हिन्दूराज्य स्थापना अभियानको सशक्त उपस्थिति देखियो । लगभग पचास प्रतिशत महासमिति सदस्यहरूले यस विषयमा सहमति जनाउनुले पार्टीभित्र यसको पक्षमा बलियो जनमत छ भन्ने देखाउँछ । नेपाली जनताको प्रतिनिधि संस्थाको रूपमा स्थापित राजनीतिक दल हो, नेपाली कांग्रेस पार्टी । यो पार्टी लाखौं नेपालीको आस्था र भरोसाको केन्द्र थियो र अझ पनि रहन सक्छ । त्यसका लागि यस दलले आफूलाई सैद्धान्तिक, नीतिगत र सांगठनिक रूपमा परिस्कृत तुल्याउनुपर्छ । विगतमा यसको विपक्षमा न कुनै जनमत थियो, न कुनै मजबुत र लोकप्रिय राजनीतिक दल । सत्ताको महत्त्वाकांक्षा बढेपछि दरबार खुलेआम कांग्रेसको विपक्षमा उभियो, जसका कारण समयक्रममा जनआन्दोलनको माध्यमले स्वयं राजसंस्था नै उन्मुलनमा जानुपर्‍यो । र, अहिले हामी गणतन्त्रात्मक नेपालमा छौं, नत्र राजसंस्था सितिमिति नेपालबाट जाँदैनथ्यो । तसर्थ हिन्दूराज्य स्थापनाको मुद्दामा पार्टीले आफ्नो स्पष्ट दृष्टिकोण र नीति तय गर्नुपर्नेमा ठूलो अलमल देखिनु हुँदैन । संविधानको मौजुदा व्यवस्थालाई कायम राख्ने वा संशोधनमा जाने स्पष्ट धारणा बनाउनुपर्छ । कि त वर्तमान व्यवस्था ठीक छ भन्न सक्नुपर्छ, या त संशोधनमा जाऊँ भनेर अग्रसरता लिनुपर्छ ।

गठबन्धनको मामला

गत निर्वाचनमा नेपाली कांग्रेसले कसैसँग गठबन्धन गर्नु आवश्यक नै थिएन । पार्टीभित्र यस विषयमा मतभेद पनि थियो । २०७४ सालमा गठबन्धन गरेर चुनाव जितेको एमाले र माओवादी गत निर्वाचनमा मिल्नसक्ने तार्किक आधार थिएन । मिलिहाले पनि जनमत प्राप्त हुने सम्भावना छँदै थिएन । कांग्रेस एक्लै सय सिट हाराहारीमा चुनाव जित्ने सम्भावना थियो । यस यथार्थलाई बुझेर निर्वाचनमा जानुपर्थ्यो, तर त्यसो भएन । प्रजातन्त्रवादी मतदातालाई गठबन्धनको भारी बोकाइयो । र, मरेर ८९ सीटमा थन्किनुपर्‍यो । यसैबाट अहिले अस्थिरता चाहनेहरूलाई बल मिलेको छ । र, अहिले गठबन्धन भत्किँदा रुवावासी गर्नुको औचित्य नै छैन । मिल्नै नहुनेसँग मिलेपछि यस्तै हुन्छ । र, अब कांग्रेसले आफ्नो बाटो तय गर्नुपर्छ । पार्टीका बहुसंख्यक साथीहरूको यही चाहना छ ।

नेपालको राजनीतिमा धेरै अघिदेखि उठेको विषय हो वृहत् प्रजातान्त्रिक एकता । यसले प्रजातान्त्रिक जनमतलाई एकताबद्ध तुल्याउँदै आफ्नो धरातललाई मजबुत बनाउँछ । ढिलोचाँडो नेपाली राजनीतिमा वैचारिक ध्रुवीकरण अवश्यम्भावी छ ।

नेपाली कांग्रेस महासमिति बैठकको पूर्वसन्ध्यामा केही समयअघि आयोजित युवा महासमिति सदस्यहरूको अनौपचारिक काठमाडौं भेलाले निकै भावुक र गम्भीर मनोविज्ञान प्रकट गर्दै बैठकसँग खास अपेक्षा समेत गरेको थियो । त्यो भेला गुटगत थिएन । त्यहाँ केही मुद्दामा गम्भीर छलफल चलेको थियो । मुद्दा समसामयिक थिए । त्यसमध्ये गठबन्धन पनि एक प्रमुख मुद्दा थियो । सो अपेक्षा कति पूरा भयो ? बैठक सम्पन्न भइसकेको परिप्रेक्ष्यमा पार्टीका सदस्यहरू मात्र होइन, आम नेपाली जनताले गरेका अपेक्षाहरू के-के थिए र के कस्ता निर्णयका साथ उत्साहजनक सन्देश प्रवाहित गर्न बैठक सफल भयो, यस विषयमा समयक्रममा समीक्षा हुँदै जानेछ ।

बैठकमा पार्टीका पदाधिकारी र सरकारका तत्कालीन अर्थमन्त्री समेतबाट नीति र कार्यक्रम, संगठन, समसामयिक राजनीति, अर्थ र लेखासम्बन्धी केन्द्रीय समितिबाट अनुमोदित प्रस्तावहरू पेश गरिनु र सर्वसम्मतिले पास पनि हुनु स्थापित परम्परागत यान्त्रिकीकरण थियो । यसको पक्ष विपक्षमा टीकाटिप्पणी गर्नुको कुनै अर्थ छैन, किनभने यतिबेला समग्र पार्टी नै यान्त्रिक रूपमा चलिरहेको छ । पार्टीभित्रको जीवन्तता खोजी मर्दा पाइँदैन । बैठकको चर्चा मात्र जीवन्तता होइन । पार्टी जीवन हिँडेकोसम्म छैन, घिस्रिएको छ । यतिसम्म कि को के गर्दैछ, सामान्य खोजीनीति छैन । जुन संस्थाले पार्टी सदस्य खोज्दैन, त्यसले जनता कसरी खोज्छ ? पार्टीमा संवेदना मरेको छ । नेतालाई वृहत् पार्टी परिवारको परवाह छैन, जसको तागतमा आफू उभिएको हो, त्यसको खोजखबर छैन । यस्तो प्रवृत्ति कहाँबाट भित्रियो, कसैलाई थाहा छैन । नेतृत्वको सानो झुन्ड रमाए पुग्ने मनोविज्ञान उदेकलाग्दो छ । तर, पनि सत्य बोल्न कोही अघि सर्दैन ।

वृहत् प्रजातान्त्रिक एकता

नेपालको राजनीतिमा धेरै अघिदेखि उठेको विषय हो वृहत् प्रजातान्त्रिक एकता । यसले प्रजातान्त्रिक जनमतलाई एकताबद्ध तुल्याउँदै आफ्नो धरातललाई मजबुत बनाउँछ । ढिलोचाँडो नेपाली राजनीतिमा वैचारिक ध्रुवीकरण अवश्यम्भावी छ । बेलाबेलामा कम्युनिस्ट खेमाबाट यस्तो प्रयत्न हुँदै आएको छ । ०७४ सालको चुनावी गठबन्धन त्यसैको पूर्वाभ्यास थियो र त्यसैको जगमा नेकपा बन्यो । त्यसको असफलताबाट नेपालका कम्युनिस्टहरूले राम्रो पाठ सिकेका छन् । अबको प्रयत्न सुझबुझपूर्ण हुनसक्छ । तसर्थ ढिला नगरिकन नेपालका सम्पूर्ण प्रजातन्त्रवादीहरू एकढिक्का हुनु जरुरी छ । यसको नेतृत्व कांग्रेसले गर्नुपर्दछ । र, वृहत् प्रजातान्त्रिक एकताको अवधारणा अघि बढाउनुपूर्व कांग्रेसको आन्तरिक एकता सुदृढ हुनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्