
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले सुखद् सुरुवात गरेको निर्माण पक्षले जनाएको छ ।
शुक्रबार बिहानैदेखि फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल र पूजा शर्मा, अभिनेताहरू मुकुन भुसाल र समर्पणजंग कार्कीलगायतको टिम दर्शक भेट्न उपत्यकाका हलमा पुगेका थिए ।
राजधानीको सिभिल मलस्थित क्यूएफएक्स, अष्टनारायण हल, एफक्यूब, बिएसआर, लबिम मलस्थित क्यूएफएक्स, वान सिनेमाजलगायतका हलमा दर्शकको उपस्थिति बाक्लो देखिएको थियो । निर्माण पक्षका अनुसार कतिपय शो हाउसफुल रहेका थिए भने धेरै शोमा ९० प्रतिशत हाराहारी अकुपेन्सी देखिएको थियो ।
फिल्मका निर्देशक देउजाले शुक्रवार देशभरका हलमा दर्शकको राम्रो अकुपेन्सीका साथ फिल्म प्रदर्शन भएको बताए । शनिवार पनि हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ ।

अभिनेत्रीहरू पूजा शर्मा र बेनिशा हमालले दर्शकको उपस्थितिले उत्साहित बनाएको बताए । हलमा पुगेका उनीहरूसँग तस्वीर खिचाउन खोज्ने दर्शकको भीड पनि बाक्लो देखिएको थियो ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्मले साधारण महिलाको संघर्ष, सक्षमता र सफलतालाई केन्द्रमा राखेको छ । फिल्मले पहिलो हाफमा हँसाउने र दोस्रो हाफमा इमोशनल बनाउने प्रतिक्रिया दर्शकले दिएका छन् ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुलभ प्रतीक र समीक्षा देउजा निर्माताका रुपमा छन् । सुलक्षण भारतीको कथा रहेको फिल्ममा भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद लेखन छ । रेखा थापा ‘उपहार’मार्फत पाँच वर्षपछि निर्माण र अभिनयमा फर्किएकी हुन् ।