२३ असार २०८३, मंगलबार
संसद्को गतिरोध

प्रतिपक्षमा पुगेपछि दोधारमा कांग्रेस, रविविरुद्धको अडानबाट ब्याक हुने संकेत !

चैत ४, २०८०
काठमाडौं
प्रतिपक्षमा पुगेपछि दोधारमा कांग्रेस, रविविरुद्धको अडानबाट ब्याक हुने संकेत !

अकस्मात् सरकार छाड्नु परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चरम दोधारमा परेको देखिएको छ ।

माओवादीले समीकरणमा एमाले रोजेपछि अकस्मात् प्रमुख प्रतिपक्षमा पुग्नुपरेको कांग्रेसले विरोधका नाममा प्रतिनिधिसभाको बैठकलाई अवरोध गरेको छ । तर, कांग्रेसले उठाएको मुद्दामा भने अलमल र विरोधाभाष देखिन्छ । 

यसअघि एमालेले विवादित मन्त्रीलाई हटाऊँ भन्दा चुपचाप बसेको कांग्रेस प्रतिपक्षमा पुगेलगत्तैदेखि विरोधमा उत्रिएको छ । अर्कातिर प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग कांग्रेसको छ । सँगै गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी प्रकरणमा कांग्रेसले आक्रोश व्यक्त गर्दै आएको छ ।

यही विरोधाभाषले कांग्रेस ब्याक हुने अवस्थामा पुग्न लागेको नेताहरू बताउँछन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको जवाफ कसरी आउँछ, त्यसपछि थप निर्णय हुने बताए । 

‘हामीले अहिले प्रधानमन्त्रीको जवाफ मागेका छौं । उहाँले कसरी जवाफ दिनुहुन्छ, अगाडिको राजनीति त्यसैमा निर्भर रहन्छ । प्रधानमन्त्रीले हाम्रा मागमा सन्तुष्ट पार्नुहुन्छ कि हुन्न, त्यसैमा धेरै कुरा निर्भर रहन्छन्,’ लेखकले भने ।

तपाईंहरूको मुख्य माग प्रधानमन्त्रीको जवाफ हो कि गृहमन्त्रीको राजीनामा भन्ने प्रश्नमा लेखकले ‘पहिलो स्टेप प्रधानमन्त्रीको जवाफ र त्यसपछि बाँकी कुरा हुने’ अलमलपूर्ण जवाफ दिए ।

यसअघि सरकारमा रहेर कार्यान्वयन गर्न सक्ने ठाउँमा नै हुँदा भने कांग्रेसले रविविरुद्ध यो मुद्दा उठाएको थिएन । तर, प्रतिपक्षमा पुगेलगत्तै उठाएको मुद्दाले कांग्रेस आफैंलाई अलमल  र दोधारमा पारेको हो । 

अख्तियारमा बयान दिन गएका तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई हटाउन कांग्रेस तयार नहुँदा प्रचण्डले सत्ता समीकरणको काँध फेर्नुपर्नेसम्मको दाबी गरेका थिए । अर्का पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की टेरामक्स प्रविधि खरिदको मुद्दामा बयान दिन पुगे । 

यी दुईविरुद्ध तत्कालीन प्रमुख प्रतिपक्षी एमालेले ध्यानाकर्षण गराउँदा कांग्रेसले कुनै निर्णय गर्ने आवश्यकता ठानेन । तर, अहिले कांग्रेसले यस्तै मुद्दालाई उचालिरहेको छ ।

शुक्रबार कांग्रेसले दुईपटकसम्म प्रधानमन्त्रीको जवाफ र गृहमन्त्रीको राजीनामा माग गरेर संसद्मा वेल घेर्‍यो, जसले बैठक आइतबारसम्म स्थगित हुन पुगेको थियो ।

null

बहालवाला सांसद मञ्जु शर्मा अन्सारीको निधनपछि आइतबार बैठक स्थगित भएको छ । बैठक अब सोमबार ११ बजेका लागि बोलाइएको छ । 

कांग्रेस सचेतक सुशीला थिङले पनि गृहमन्त्रीले प्रस्तुत गर्ने विधेयक कार्यसूचीबाट हट्ने भएपछि सदन चल्ने बताइन् ।

‘हाम्रो मुख्य चासो नै गृहमन्त्रीले प्रस्तुत गर्ने विधेयकमा थियो । त्यसैले उहाँले प्रस्तुत गर्ने कार्यसूची हट्ने भएपछि कांग्रेसले सदनमा अवरोध गरिरहँदैन,’ थिङले लोकान्तरसँग भनिन् । 

कांग्रेसका अर्का एक सांसद पनि प्रधानमन्त्रीले जवाफ दिने भनिरहँदा गृहमन्त्रीको प्रस्ताव पनि तत्काल प्रस्तुत नहुने भएपछि सदनमा अवरोध उचित नहुने बताउँछन् । 

‘कांग्रेसजस्तो लोकतान्त्रिक शक्तिलाई एउटा मन्त्री विशेषको राजीनामा माग गर्दै सदन अवरुद्ध गरिरहने कुरा सुहाउने विषय होइन । यसअघि मन्त्री नहुँदा सहकारी प्रकरणमा रवि लामिछानेमाथि कांग्रेसले प्रश्न नउठाएको हो । तर, अनुसन्धान  गर्ने मान्छे नै गृहमन्त्रीपछि स्वार्थ बाझियो भन्ने मत कांग्रेसको हो,’ ती सांसद भन्छन्, ‘तर, तत्काललाई गृहमन्त्रीले प्रस्तुत गर्ने भनेको विधेयक उनले प्रस्तुत नगर्ने सहमतिपछि कांग्रेस सदनमा अवरुद्ध नगर्नेमा पुगेको जानकारी पाएका छौं । तर, गृहमन्त्रीमाथिको हाम्रो चासोको विषय पनि कायम नै रहन्छ ।’

शुक्रबार सभामुखले गृहमन्त्री रवि लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएपछि कांग्रेसले वेल घेरेको थियो । तर, दलबीच तत्काल यो विधेयक गृहमन्त्रीले प्रस्तुत नगर्ने सहमति भएपछि सदन खुलाउने संकेत कांग्रेसले गरेको हो ।

तर, आइतबार बस्ने बैठकका लागि लामिछानेको यो प्रस्ताव कार्यसूचीमा थिएन । शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । सांसद अन्सारीको निधनका कारण यो प्रस्ताव अब सोमबार प्रस्तुत गर्ने तयारी छ ।

संसद्को अघिल्लो अधिवेशनमा एउटा मात्रै कानून बन्ने स्थिति आएको थियो । यसैले कांग्रेसले बैठकबाटै सदन र समितिका बैठकमा अनिवार्य उपस्थित भएर रचनात्मक बन्न सांसदलाई निर्देशन दिएको थियो । तर, प्रतिपक्षमा पुगेलगत्तैदेखि कांग्रेसले मन्त्री विशेषलाई हटाउनुपर्ने भन्दै अव्यावहारिक रूपमा संसद् अवरुद्ध गरेपछि आफैं रक्षात्मक बन्नुपर्ने अवस्थामा पुगेको छ । बजेटको मुखमा सदन अवरुद्ध गरेर सदनलाई निष्प्रभावी बनाउन नहुने दबाब कांग्रेसमाथि छ । 

‘अघिल्लोपटक संसद्बाट एउटा मात्रै कानुन बन्ने स्थिति आयो । यस्तोमा सदनलाई थप जिम्मेवार बनाउनुपर्ने दायित्व सबैभन्दा ठूलो दलको रूपमा कांग्रेससामु पनि छ,’ ती सांसद भन्छन्, ‘सदनमा अवरोध गरिरहेर यसको गरिमा घटाउने छुट एउटा प्रजातान्त्रिक पार्टीलाई हुने कुरा भएन । रविको विषयमा हाम्रो चासो रहिरहने र प्रधानमन्त्रीले जवाफ दिएपछि एउटा सहमतिको बिन्दुमा पुग्नुपर्छ भन्ने मत छ ।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल हठात् सत्ता छाड्नुपरेपछि कांग्रेस तिल्मिलाएको बताउँछन् । 

‘हठात् सत्ताच्युत हुनुको कारणबाट यति पनि न तिल्मिलाउनुस् कि सरकारले सय दिने मधुमास पूरा गर्न पाउने संसदीय अभ्यास पनि बिर्सिन पुगियोस् !’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अठ्चालिस सालको एमालेको बाटोमा लागेकै हो त कांग्रेस ?’

salt training

कमेन्ट गर्नुहोस्