
चिकित्सा शिक्षा सुधारका लागि भन्दै आन्दोलन गरिरहेका डा गोविन्द केसीले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।
शनिवार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजना गर्दै डा केसीले स्वास्थ्य सेवाको गुणस्तर नियमन गर्ने सरकारी निकाय र शिक्षण संस्थानमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न गठित समितिको उक्त प्रतिवेदन कार्यान्वयनको माग राखेका हुन् ।
छानबिन समितिले बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र केपी शर्मा ओलीलगायत प्रमुख दलका नेताहरू नै संलग्न रहेको उल्लेख गर्दै प्रतिवेदनको सुझावअनुसार तुरुन्त दोषीहरूउपर कारबाही गर्न माग गरेका हुन् ।
‘पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले करिब ७ वर्षअघि बुझाएको, भ्रष्टाचारमा संलग्न पदाधिकारीहरू र सजायबारे सुझावसहितको रिपोर्ट हालै मन्त्रालयले सार्वजनिक गरेको छ । दोषीहरूमा देउवा, ओली र प्रचण्डलगायत प्रमुख दलका नेता, पदाधिकारी र कार्यकर्ताहरू छन्,’ डा केसीद्धारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ, ‘रिपोर्ट बुझाएलगत्तै त्यसलाई सार्वजनिक गरेर दोषीहरूमाथि कारबाही गर्न शुरूमा देउवा र त्यसपछि ओली सरकारलाई आग्रह गरेका थियौं र सत्याग्रहसहितको दबाब दिएका थियौं तर सुनुवाइ भएन । अब प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरूउपर कारबाही गर्न माग गर्दछौं,’
त्यस्तै, डा केसीले मुलुकमा गुणस्तरहीन शिक्षा र दिगो रोजगारीको अभाव भएका कारण १२ कक्षा उत्तीर्ण भएलगत्तै प्रत्येक वर्ष दशाैँ हजार युवा विदेशिइरहेको बताउँदै यसको कारण नै मुख्य दलको नेतृत्व रहेको आरोप लगाएका छन् ।
सर्वोच्च अदालतले मापदण्ड पनि नपुगेको र प्रक्रिया पनि नपुर्याएको मेडिकल व्यापारीको अस्पताललाई सम्बन्धन दिनु भन्ने आदेश चिकित्सा शिक्षा ऐन र अन्य प्रचलित कानूनहरूको विपरीत भएको केसीको दाबी छ ।