१४ असार २०८३, आइतबार
विकृत अभ्यास

फ्लोर क्रस गरेका देवकोटा मन्त्री बन्दै, कारबाही गर्ने माओवादीको घोषणा

जेठ २८, २०८१
कास्की
फ्लोर क्रस गरेका देवकोटा मन्त्री बन्दै, कारबाही गर्ने माओवादीको घोषणा

सत्ता समीकरण परिवर्तनसँगै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकीमा कांग्रेस नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता गरेपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्दराज पाण्डेको नजर प्रदेशसभा सदस्य फणीन्द्र देवकोटातर्फ थियो । 

माओवादी केन्द्रको चुनाव चिन्हबाट गण्डकी प्रदेश सभा सांसद बनेका देवकोटाले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छन् भन्ने सुरुदेखि नै आङ्कलन गरिएको थियो । सोमबार सदनमा उनले गरेको फ्लोर क्रसकै कारण गण्डकी सरकार जोगियो भने एमाले–माओवादी केन्द्र सम्मिलित गठबन्धन तरङ्गित बनेको छ । 

यसअघि नै अविश्वासमा परेपछि मुख्यमन्त्री पाण्डेले सरकार जोगाउन प्रयास गरेका थिए ।  तर, त्यति बेला विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीले राजीनामा बुझाए । सदनमा बहुमत पुर्‍याउन दुबैलाई सकस हुँदा ठुलो दलको नेताका रूपमा आफू नै मुख्यमन्त्री नियुक्त हुने पाण्डेको अड्कल थियो । तर, उनले सोचे विपरीत खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त भए । सर्वोच्चले अधिकारीले लिएको विश्वासको मत उल्ट्याएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेले सोमबार सदनबाट ३१ सांसदको समर्थन सहित विश्वासको मत प्राप्त गरे । 

सम्भवतः सोमबारको दृश्यबारे विपक्षी दल जानकार थिए । सदनको कुर्सीमा बस्नुअघि एमाले संसदीय दलका नेता खगराज अधिकारीले देवकोटा बसेको कुर्सी छेउ आएर कुरा गरी गए । विश्वासको मत विषयमा छलफल हुँदा घुमाइरो पारामा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाल समाजवादी पार्टीको गण्डकी सदनमा अस्तित्व नरहेको बताए । उनले अप्रत्यक्षरुपमा देवकोटालाई लक्षित गर्दै सदनमा बोले । 

विश्वासको मत दिने बेला विपक्षी टेबलमा सँगै बसेका देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) समर्थनतर्फको लबीमा सोझिए । यो देख्नसाथ प्रतिपक्ष दलका संसदीय नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारी आफै नाराबाजीमा उत्रिए । 

पार्टीको ह्विप र कारबाहीको विषयमा कुरा भइरहँदा यता देवकोटा केन्द्रको निर्णय अनुसार मत दिएको बताउँछन् । 

‘मैले र मेरो पार्टीले मतदान गर्दा गण्डकीको स्थायित्व बचाउन सकिन्छ । मध्यावधिबाट रोक्न सकिन्छ भनेर मत दिएको हो । केन्द्र र प्रदेश पार्टी अनुसार माओवादी केन्द्रले ह्विप जारी गरे पनि मेरो पार्टी नेपाल समाजवादी भएका कारणले केन्द्रको निर्देशनअनुसार मत दिएको हो’, उनले भने । 

निर्वाचन आयोगमा र नेपाल समाजवादी पार्टीमा आफ्नो परिचय रहेको तर्क दिँदै उनले पार्टीको ह्विप नलाग्ने जिकिर गरे ।  आफूले माओवादी केन्द्र नभई समाजवादीको नाताले विश्वासको मत दिएको उनले भनाइ राखे । 

तर माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान भने उनलाई पार्टीले कारबाही गर्ने बताए ।  पार्टीले अविश्वासको पक्षमा मत दिनका लागि आइतबार १ बजे संसदीय दलको बैठक राखेको थियो । सो बैठकमा देवकोटा उपस्थित भए पनि हस्ताक्षर गरेनन् । यसअघि पनि दलको तीन चार वटा बैठकमा अनुपस्थित रहेका उनलाई कारबाही प्रक्रिया अघि नबढाएको चुमानले बताए । 

दलको बैठकमा अनुपस्थित रहे पनि देवकोटाले अघिल्लो पटकमा पार्टीको ह्विप उल्लङ्घन गरेका थिएनन् । यस पटक भने उनले फ्लोर क्रस गरेर गण्डकीमा कांग्रेसको सरकार जोगाइदिएका छन् । 

देवकोटालाई कारबाही प्रक्रिया अगाडि बढाउन लागिसकेको दलका नेता चुमानले जानकारी दिए । ‘उहाँले ह्विपको उल्लङ्घन गर्नुभयो । सम्बन्धित दलले कारबाहीको प्रक्रिया अघि बढाउँछ आजै हामीले कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ । कानुनी प्रक्रिया छ स्पष्टीकरणको प्रक्रिया छ । हाम्रो पार्टीले स्पष्टीकरण लिने उनले दिने स्पष्टीकरण चित्त नबुझ्दो नभएमा कारबाहीको प्रक्रिया अघि बढ्छ,’ चुमानले भने । यस्तै प्रधानमन्त्री प्रचण्डले पनि सोमबार साँझ भारतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देवकोटामाथि कारबाही हुने बताएका थिए । 

तर, कारबाही भएमा सांसद पद नै धरापमा पर्ने निश्चित रहेका  देवकोटा भने मङ्गलवार गण्डकीको मन्त्री नियुक्त हुँदै छन् । यस्तै, दीपक मनाङेले पनि मङ्गलवार मन्त्री पदमा शपथ लिँदै छन् । 

राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ को उपदफा ३ मा ह्विप उल्लङ्घन भएमा कारबाहीका लागि प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको छ । चुनाव चिन्ह माओवादी भए पनि उनको पार्टीको परिचय भने नेपाल समाजवादी नै हो । यस्तै प्रदेश सभा सचिवालयले पनि उनलाई समाजवादी पार्टीबाट निर्वाचित सांसद भनेर रेकर्डमा राखेको छ । अब यो विषयमा झमेला हुने निश्चित रहेकाले विवाद अदालतसम्म पुग्ने निश्चित छ । 

salt training

कमेन्ट गर्नुहोस्