
'लोकान्तर राउण्ड अप' मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
फिफा विश्वकप अन्तर्गतको समूह 'के' को रोमाञ्चक अन्तिम खेलमा कोलोम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका धेरै अवसर सिर्जना गरे पनि जाली चुमाउन सकेनन्। यस बराबरीका बाबजुद दुवै टोली यसअघि नै अन्तिम ३२ (नकआउट चरण) मा पुग्न सफल भइसकेका थिए।
००००
जारी फिफा विश्वकप २०२६ मा इंग्ल्यान्ड समूह ‘एल’ को विजेता बनेको छ ।
नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा पानामालाई २–० ले हराएको इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
००००
घानालाई हराउँदै क्रोएसिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘एल’ अन्तर्गतको आइतबार बिहान सम्पन्न खेलमा क्रोएसियाले घानालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणको यात्रा तय गरेको हो ।
००००
कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको जानकारी गराउँदै आगामी हप्ता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिए ।
उनका अनुसार मङ्गलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ ।
००००
नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को जेठको कार्यसम्पादन मूल्याङ्कन (रिपोर्ट कार्ड) अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये प्रथम भएको छ ।
वैशाख महिनामा पनि पहिलो स्थान हासिल गरेको लुम्बिनी प्रदेश प्रहरीले जेठमा समेत उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिएको हो ।
००००
काठमाडौँका नदी किनार र ऐलानी जग्गाबाट हटाइएका भूमिहीन दलित तथा सुकुम्बासीहरूले आफ्नो जीवन रक्षाको माग गर्दै सरकार र मानवअधिकारवादी निकायहरूसमक्ष गुहार मागेका छन्।
गत वैशाख १२ गते वैकल्पिक व्यवस्था बिना नै डोजर लगाएर घरटहरा भत्काइएपछि होल्डिङ सेन्टरमा राखिएका उनीहरूले दुई महिना बितिसक्दा पनि स्थायी समाधान नपाएको भन्दै आक्रोश र पीडा व्यक्त गरेका हुन्।
००००
गाडी दुर्घटनामा परेर प्यूठानको स्वर्गद्धारी नगरपालिका उपप्रमुख मिनराज रानामगरको मृत्यु भएको छ ।
शनिबार रानामगरले आफैले चलाएको लुम्बिनी प्रदेश ०१–००१ झ ००८ नम्बर गाडी स्वर्गद्वारी नगरपालिका–२ स्थित बाङ्गेसल्ला सडकबाट ५०० मिटर तल खसेको थियो । उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
००००
जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरू गरेको छ ।
सार्वजनिक सूचना प्रकाशित गर्दै कार्यालले कालिकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएकोसम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए ।
००००
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभीपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गरे ।
००००
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन् ।
००००
काठमाडौं महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एकआपसमा गाभ्नका लागि सर्तहरू अगाडि बढाएको छ ।
महानगर क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धमा सम्बनधित संस्थाको विभिन्न सर्तहरू अघि सारेको छ ।
००००
धनुषाको जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ मुखियापट्टी बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा बस्ने १८ वर्षीय सुधीर मुखिया छन् ।
००००
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।
अध्यक्ष ओलीको तर्फबाट आयोगका सचिव मुरारी खरेललाई भेटेर शुक्रबार उक्त निवेदन दर्ता गराएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा भ्रम सिर्जना गर्ने र बेमेल सिर्जना हुने क्रियाकलाप त्याग्न आग्रह गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले बेमेल सिर्जना हुने खालका क्रियाकलाप सबैले आजैबाट त्याग्नुपर्ने बताए ।
००००
काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ ।
पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ ।
००००
नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागार मोरङका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीको निवासमा खानतलासी गरेको थियो । घरमा शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।