
नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा ४ जी मोबाइल सेवा विस्तार गरेको छ ।
कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बीटीएस जडान गरेर ४जी सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।
यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको २ जी मोबाइल सेवालाई स्तरोन्नति गरी ४जी बनाइएको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।
उनका अनुसार समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेका कास्कीका मनमोहक पर्यटकीय स्थल माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार गरिएको हो ।
योसँगै यस क्षेत्रका स्थानीय, घुम्न आउने पर्यटकहरू तथा अन्य व्यवसायीहरू समेत नेपाल टेलिकमको ४ जी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको छ ।