
वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण आगामी साउन १ गतेदेखि पूर्णरूपमा अनलाइनमार्फत हुने भएको छ ।
शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उक्त व्यवस्थाबारे स्पष्ट पारेका हुन् ।
'सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीतिअन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्यरूपमा कार्यान्वयनमा आउनु अगाडि नै नयाँ प्रणालीसँग अभ्यस्त हुन आजैबाट परीक्षण शुरू गर्दा हुन्छ,' उनले भने ।

नयाँ व्यवस्थासँगै मागपत्रको प्रमाणीकरण सेवा समयानुकूल एवं चुस्त हुने भएको छ ।
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपालीहरूको खोजतलास र उद्धार, मृतको शव झिकाउने, राहत र क्षतिपूर्ति, गुनासो सम्बोधन लगायतका अनलाइन सेवालाई सबै नियोगहरूले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।