०७ असार २०८३, आइतबार
पाँचौंपटकमा अविश्वासतर्फ प्रचण्ड

अल्पमतमा परेको जान्दाजान्दै किन विश्वासको मत माग्न खोज्दैछन् प्रचण्ड  ?

असार २१, २०८१
काठमाडौं
अल्पमतमा परेको जान्दाजान्दै किन विश्वासको मत माग्न खोज्दैछन् प्रचण्ड  ?
फाइल तस्वीर

प्रमुख सत्ता सहयोगी नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । 

प्रतिनिधिसभामा ७७ सीट रहेको एमालेले समर्थन फिर्ता लिएको र ठूलो दल नेपाली कांग्रेसले पनि एमालेसँगै गठबन्धनको सहमति गरेकाले प्रचण्डले विश्वासको मत पाउने स्थिति भने देखिन्न ।

तर, पनि उनले विश्वासको मतको प्रक्रिया पूरा गर्ने तयारी गरेका छन् । गत सोमबार राति कांग्रेस र एमालेबीच नयाँ समीकरणको सहमति भएको थियो । 

आफूहरूबीच सहमति भएपछि दुवै दलले पार्टीबाट औपचारिक निर्णय गर्दै मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै आएका छन् । तर, सहमति सार्वजनिक नभएकाले संसद् फेस गरेर जाने मुडमा प्रचण्ड देखिएका हुन् । 

यति मात्रै होइन, केहीले विश्वासको मतको प्रक्रियामा गए संविधानको धारा ७६(३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठन हुन सक्ने कानूनी व्याख्या रहेको दाबी समेत गर्दै आएका छन् ।

७६(२) को प्रयोग भएपछि संविधानतः अब ७६(३) अनुसार सरकार गठन हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली नभई ठूलो दलको रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनसक्ने उनीहरूको तर्क छ । सोही बुझाइका कारण ओलीलाई रोक्न प्रचण्डले विश्वासको मत लिन लागेको विश्लेषण समेत हुँदै आएको छ । तर, संविधानविदहरू भने पुनः ७६(२) प्रयोग गर्न बाधा नपर्ने बताउँछन् ।

विश्वासको मत फेस गरेको अवस्थामा पनि ७६(२) अनुसार सरकार गठन गर्ने विकल्प बाँकी नै रहने संविधानविद् भीमार्जुन आचार्य बताउँछन् । 

‘प्रधानमन्त्री अहिले कामचलाउ हुनुभएको छ । उहाँको मनमा भएको कुरामा हामीले आपत्ति जनाउने कुरा भएन । उहाँले संविधानतः ३० दिनभित्र विश्वासको मत लिन पाउनुहुन्छ,’ आचार्यले लोकान्तरसँग भने, ‘विश्वासको मत पाए प्रधानमन्त्रीमा निरन्तर हुनुहुन्छ । कोशी प्रदेशको मुद्दामा सर्वोच्च अदालतले संविधानको धारा ७६(२) र धारा ७६(३) दुवै विकल्पबाट सरकार बन्न सक्ने बाटो खुला राखेको नजिर छ । त्यसैले वैकल्पिक सरकार बन्ने स्थितिसम्म संसद् विघटनमा जाँदैन । प्रधानमन्त्रीले विश्वासको मत नपाए पनि ७६(२) र ७६(३) दुवैबाट सरकार बन्ने प्रक्रिया वैध हुन्छ ।’ 

यसपटक प्रचण्डको खेल रोक्नैका लागि देउवा आफैंले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने भनी ७ बुँदे सहमति गरिसकेका छन् । उनीहरूबीच शुरूको २ वर्ष ओली र त्यसपछि देउवाले नेतृत्व गर्ने सहमति छ ।

एमालेसँग नयाँ समीकरणमा बनाउन खटिएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पछिल्लो सहमतिअनुसार ओली प्रधानमन्त्री बन्न कुनै अड्चन नहुने बताए ।

‘प्रधानमन्त्रीले एक महिनासम्म विश्वासको मत लिन पाउने उहाँको संवैधानिक अधिकार हो । तर, उहाँले एक हप्तामै विश्वासको मत लिने तयारी गर्नुभएको छ,’ कार्कीले लोकान्तरसँग भने, ‘विश्वासको मत नपाएपछि  संविधानको धारा ७६(३)को व्याख्या रहन्न । संविधानको स्पिरिट बहुमतको सरकार बनोस् भन्ने छ । बहुमतको सरकार बन्ने प्रचुर सम्भावना हुँदाहुँदै अर्कोमा जाने व्याख्या गर्ने विषय उपयुक्त छैन ।’

एमालेले औपचारिक रूपमा संसद् सचिवालयलाई समर्थन फिर्ताको जानकारी गराएको शुक्रबारलाई पहिलो दिन मान्दै प्रचण्डले एक हप्ताभित्रै विश्वासको मत लिन लागेको उनको सचिवालयले जनाएको छ । 

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेको २ दिन बितेको छ । तर, प्रचण्डलाई उनीनिकट नेताले अल्पमतमा परेपछि अब लामो समय पदमा नबस्न सुझाएका छन् । यसैले एमालेले औपचारिक रूपमा संसद् सचिवालयलाई समर्थन फिर्ताको जानकारी गराएको शुक्रबारलाई पहिलो दिन मान्दै प्रचण्डले एक हप्ताभित्रै विश्वासको मत लिन लागेको उनको सचिवालयले जनाएको छ । 

‘एमालेले औपचारिक रूपमा सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएपछि प्रधानमन्त्रीले आगामी असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिनुहुन्छ,’ प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले लोकान्तरसँग भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत फेस गर्नुस् भन्नुभएको । यसैले प्रधानमन्त्रीले धेरै ढिला नगरी विश्वासको मत लिन लाग्नुभएको हो ।’ 

विश्वासको मत लिने भए रास्वपा र नेकपा एस दुवैले मन्त्रीबाट राजीनामा नदिने बताएको आचार्यले जानकारी दिए । नयाँ सरकारको समझदारी गरेपछि नेकपा एमालेको सचिवालय बैठक र नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । तर, तत्काल राजीनामा नदिएपछि एमालेले १९ असारमा आफ्ना ८ मन्त्री फिर्ता बोलाएको हो । 

प्रधानमन्त्रीलाई त्यसै दिन जानकारी गराएकाले एमालेले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी संसद् सचिवालयलाई गराएको हो । यसलगत्तै प्रधानमन्त्रीले संसद् सचिवालयलाई पत्र पठाउँदै असार २८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् । 

चारपटकसम्म विश्वास, पाँचौपटक अविश्वासतर्फ प्रचण्ड 

कांग्रेससँग गठबन्धन गरेर २०७९ को चुनाव लडेका माओवादी अध्यक्ष प्रचण्ड गत वर्षको पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर, पुस २६ गते कांग्रेसहितका लगभग सबै दलको गरी २७५ मध्ये २६८ सांसदको विश्वासको मत पाएका थिए । तर, माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरियो । यसैले २०७९ चैत ६ गते प्रधानमन्त्रीले १७२ सांसदको समर्थन पाए । 

प्रचण्ड कांग्रेससँग लामो समय अडिएनन् । २०८० फागुन २१ गते कांग्रेस छाडेर एमालेसँग मिलेपछि प्रचण्डले गत ३० फागुनमा तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यतिखेर प्रचण्डले १५७ सांसदको समर्थन पाए । जसपा नेपाल विभाजन भएपछि प्रचण्डले फेरि गत जेठ ७ गते १५७ सांसदको विश्वासको मत पाएका थिए । 

गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने भएपछि प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् । पहिलोपटक शतप्रतिशतजस्तो विश्वासको मत पाएका प्रचण्डले त्यसपछि लगातार मत खस्कँदै गएको छ । तर, पाँचौंपटक भने उनले विश्वासको मत नपाउने देखिएको छ । 

सत्तामा रहेका माओवादी, रास्वपा र नेकपा एकीकृत समाजवादीको मात्रै विश्वासको मत पाउने स्थितिमा प्रचण्ड छन् । यी दलको जम्मा मत ५३ छ । अरू दल अनिर्णित नै छन् । तर, सत्तामै रहेका र अन्य दल राप्रपा, जसपा नेपाल, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्तिले भने कांग्रेस र एमालेको समीकरणलाई सहयोग गर्ने देखिएको छ । 

कमेन्ट गर्नुहोस्