
मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन शुरू भएको छ ।
विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गरेका हुन् ।
चलचित्र ‘घरज्वाइँ’ले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ ।
घरज्वाइँ बस्ने परम्परालाई छोरीप्रतिको उच्च सम्मानका रूपमा चलचित्रमा देखाइएको छ ।
'अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने चलन रहे पनि मगर समुदायमा घरमै राखेर ज्वाइँको परीक्षण गरिने परम्परा छ,' निर्देशक मगरले भने । उनले भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षाकै रुपमा घरज्वाइँ बस्ने परम्परालाई बुझ्न आग्रह गरे ।
जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘घरज्वाइँ’मा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आलेलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
अभिनेत्री मिरुना मगरले आफू विदेशमा हुर्किएकाले यस संस्कृतिलाई नजिकबाट चलचित्रकै माध्यमले बुझ्न पाएको बताइन् ।
'छोरी भएका कारण पनि घरज्वाइँ बस्ने परम्परा गज्जब लाग्यो । आफ्नो छोरीको खुसी जुनसुकै अभिभावकले पनि चाहनुहुन्छ, यसमा आफ्नै घरमा राखेर परीक्षण गरिन्छ । यसले छोरीलाई पाल्न सक्ने व्यक्ति भनेर पहिचान गराउँछ,' उनले भनिन् ।