
काठमाडौं, ९ कात्तिक-उपत्यकामा निर्माणाधीन आधुनिक ‘आर्क नेटवर्क ब्रिज’को निर्माणकार्य समयमै सम्पन्न नहुने भएको छ । डिजाइनमा ढिलासुस्ती, धोबीखोला, बाग्मतीमा खानेपानी र विद्युतीय उपकरण समयमा नहुँदा आर्क पूलको निर्माण कार्य सम्झौता अवधिमै सम्पन्न नहुने देखिएको हो ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवत्ता एवं इञ्जिनियर विश्व विजयलाल श्रेष्ठकाअनुसार अहिलेसम्म कति काम सम्पन्न भयो भन्ने आधार नभएपनि बिजुलीबजारमा २५ प्रतिशत, तीनकुनेमा १८ प्रतिशत बजेट निकासा भइसकेको र त्यसै आधारमा काम भइरहेको छ ।
बिद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समयमै गर्नुपर्ने काम नगरिदिएको कारण आयोजना तोकिएको समयमा सम्पन्न हुन नसक्ने आयोजनाको दाबी छ ।
आयोजना प्रमुख दिपक केसीका अनुसार बिद्युत प्राधिकरणले विभिन्न स्थानमा रहेका बिजुलीका खम्बा हटाउनै धेरै समय लगाएको थियो । बिजुलीबजारमा धोबिखोलामा निर्माणधीन ‘आर्क पूल’को एक साइटको खम्बा अझै नसरेको र ठाउँ छैन भनेर अटेरी गरिरहेको उनले बताए । नेपालमा नयाँ खालको डिजाइन भएकाले बंगलादेशमा डिजाइन गर्नै डेढ वर्ष लागेको केसीले बताए ।
‘बाग्मती र धोबीखोलामा नयाँ प्रविधिको पुल बनाउन लागेकाले ठेकेदार कम्पनीलाई डिजाइन तयार पार्नै डेड वर्ष समय लाग्यो,’ उनले भने, ’निर्धारित समयमै पुल निर्माण सम्पन्न नहुने सम्भावना बढेर गएको छ ।’
उपत्यकाका सडक विस्तारपछि साँघुरिएका पुललाई फराकिला बनाउने र राजधानीका सडक आकर्षक बनाउने योजनासहित सरकारले ‘आर्क पुल’ निर्माण अघि बढाएको थियो ।
सम्झौता अवधि तीन महिना बाँकी, काम २५ प्रतिशत मात्रैबिजुलीबजारस्थित धोबीखोलामा बन्न लागेको पूलको निर्माण सम्झौताअवधि करिब ३ महिना मात्र बाँकी छ । हालसम्मको निर्माण गतिले यो पुल तोकिएको समयमै निर्माण हुने सम्भावना नभएको आयोजनाले जनाएको छ ।
सम्झौताअनुसार धोबीखोला पुल निर्माण ०७४ पुस १३ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । यो पुल निर्माणको ठेक्का टेक्सासको जेई कन्स्ट्रक्सन प्रालिले पाएको छ ।
कुल १३ करोड १३ लाख रुपैयाँ लागतमा बन्न लागेको बिजुली बजारको पुलको लम्बाई ५० मिटर र चौडाई १२ मिटर हुनेछ । आयोजनाका इन्जिनियर एवंम् प्रवक्ता श्रेष्ठका अनुसार धोबीखोला पुल निर्माणका लागि सरकारले ठेकेदारलाई हालसम्म पाँच करोड ६१ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।
तीनकुनेको पुल निर्माणका लागि तोकिएको समय पनि ९ महिना मात्रै बाँकी छ । तीनकुनेमा भने बाग्मती पुलको उत्तरतर्फ ८५ मिटर र दक्षिणतर्फ ८५ मिटरका दुई पुल निर्माण गर्न लागिएको हो ।
बाग्मती पुल निर्माणको ठेक्का भने नेपाली निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले पाएको छ । यसको लागत २१ करोड ३३ हजार रुपैयाँ हुने अनुमान छ । सरकार र ठेकेदार कम्पनीबीच २०७५ असार ५ गतेभित्र सो पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो । बाग्मती पुलका लागि भने सरकारले पाँच करोड ७७ लाख ५५ हजार रुपैयाँ रकम भुक्तानी गरिसकेको आयोजनाले जनाएको छ ।
दुवै पुल निर्माणको ठेक्का सम्झौताअनुसार ठेकेदारले नै डिजाइन समेत तयार पार्नुपर्छ । तर, दुवै कम्पनीले पुलको डिजाइन तयार पार्न ढिलो गरेकाले लक्ष्यअनुसार निर्माण अघि बढ्न नसकेको हो ।
कस्तो हुन्छ आर्क नेटवर्क ब्रिज ?आयोजनाका इन्जिनियर विश्वविजयलाल श्रेष्ठका अनुसार बाग्मती र धोबीखोलामा नेपालकै पहिलो ’आर्क नेटवर्क ब्रिज’ बन्न लागेको बताए । ‘आर्क नेटवर्क ब्रिज नयाँ प्रविधिमा आधारित पुल हो, यसको डिजाइन निर्माण गर्ने ठेकेदारले नै तयार गर्नेछन्,’ श्रेष्ठले भने, ‘नयाँ खालको पुल भएकाले बंगलादेशी कम्पनीले प्रमाणित गरेसँगै निर्माणको जिम्मा दिइएको हो ।’ उनकाअनुसार आर्क नेटवर्क ब्रिज’को माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिनेछ । बीचमा बलिया तार जडान गरिन्छ । बीचमा गार्डर (दलिन) पनि राखिनेछ । नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउनेछ ।
‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि फरक खालको हुन्छ । यसलाई निर्माण गर्दा सुरुमा खोला खोल्साको वारीपारी सडकको चौडाइँ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात बलियो जगसहितको संचरना निर्माण गरिन्छ ।
आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । त्यसपछि माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ ।
आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ ।
पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ । किनभने खोलाको बीचमा पिल्लर ठड्याउनुपर्दैन, जसका कारण कम खर्चिलो पनि छ । पुलमा आरसीसी (रड, सिमेन्ट, गिट्टी, बालुवा) प्रविधिबाट आर्क बनाइन्छ । पुलको सडक भागमा पीच वा आरसीसी नै गरिन्छ ।