०८ साउन २०८३, शुक्रबार
खुकुलो मौद्रिक नीति

मौद्रिक नीतिले निजी क्षेत्र उत्साहित– कार्यान्वयनका क्रममा थप सहजताको आशा

साउन ११, २०८१
काठमाडौं
मौद्रिक नीतिले निजी क्षेत्र उत्साहित– कार्यान्वयनका क्रममा थप सहजताको आशा
तस्वीरमा माथिबाट क्रमश: राणा, अग्रवाल र सिंह

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि जारी गरेको मौद्रिक नीतिलाई लिएर निजी क्षेत्र खुसी देखिएको छ । कार्यान्वयनका क्रममा थप सहजताको अपेक्षा समेत निजी क्षेत्रले गरेको छ ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो नीति लिइएको बताएका थिए ।

निजी क्षेत्रले मौद्रिक नीतिको लचिलोपनालाई स्वागत गर्दै थप लचकताको अपेक्षा गरेको छ ।

लोकान्तरसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीति केही लचिलो आएको बताए ।

'केही लचिलो त आएकै हो, जुन स्वागतयोग्य छ । हामी त्यसमा खुसी हुनुपर्छ, तर हामीले खोजेकोजस्तो पूर्ण लचिलो आएन,' उनले भने ।

मौद्रिक नीतिले निजी क्षेत्रलाई उत्साहित बनाएको तर पूर्णरूपमा खुलेर अघि बढ्न चाहिँ गाह्रो हुने टिप्पणी अग्रवालले गरे ।

गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै भनेका थिए, 'वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य स्थितिलाई मध्यनजर राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।'

त्यस्तै, मौद्रिक नीतिले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था गरेको गभर्नर अधिकारीको दाबी छ  ।

समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्नेगरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिबीच तादात्म्यता कायम गरिएको गभर्नर अधिकारीले बताए ।

‘बैंकहरूलाई यतिबेला कर्जा वितरणका लागि सहज छ । बैंकमा ६ खर्ब रुपैयाँ बराबरको रकम थुप्रिएको छ,’ गभर्नर अधिकारीले भने, ‘यो रकमलाई चलायमान बनाउने नीति मौद्रिक नीतिले लिएको छ ।’

नियामकीय रिजर्भमा रहेको रकमलाई समेत चलायमान बनाउने गरी काम गर्न राष्ट्र बैंकले चाहेको समेत गभर्नरले बताए ।

अर्थतन्त्रमा आएको शिथिलताको मुख्य कारण पहिल्याउँदै यसलाई खुलाउनका लागि नीति लिएर सामूहिकरूपमा सम्बोधन गरेको गभर्नर अधिकारीको दाबी छ ।

आगामी वर्षका लागि साढे १२ प्रतिशत कर्जा प्रवाहका लागि पनि खुकुलो मौद्रिक नीति लिएको अधिकारीले बताए । यस्तै, निर्माण क्षेत्रलाई सम्बोधन गर्न समेत मौद्रिक नीति खुकुलो बनाएको उनले बताए ।

मौद्रिक नीतिमाथि छोटो प्रतिक्रिया दिँदै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले यसले निजी क्षेत्रमा उत्साह थपेको बताइन् ।

'निजी क्षेत्र यो मौद्रिक नीतिसँग सन्तुष्ट र खुसी छ,' उनको छोटो प्रतिक्रिया थियो । बाँकी यसको सफलतापूर्वक कार्यान्वयनमा भर पर्ने उनको भनाइ छ ।

त्यस्तै मौद्रिक नीति सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिले निर्माण व्यवसायसँग सम्बन्धित समस्यालाई समाधान गर्न खोजेको टिप्पणी गरे ।

'निर्माण व्यवसायीलाई सहजीकरणसँगै यसले एसेट म्यानेजमेन्ट कम्पनीबारे पनि कुरा गरेको छ, जसलाई स्वागतयोग्य भन्नुपर्छ,' उनले भने ।

त्यस्तै बेस रेट पनि फ्लेक्जिबल बनाउने कुरा स्वागतयोग्य रहेको र सँगै बैंकहरूको क्यापिटल कन्स्ट्रेन्ट समेत खुकुलो बनाएर बैंकलाई लगानी गर्न सजिलो बनाइदिएको उनको धारणा छ ।

अझै सन्तुष्ट छैनन् निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सावाँ र ब्याज भुक्तानीका लागि मंसिरसम्मको समय दिनु राम्रै भएता पनि निर्माण क्षेत्र चलायमान हुने गरी नीतिमा केही व्यवस्था नभएको बताए ।

'मंसिरसम्म समस्यालाई सम्बोधन गर्ने काम गर्‍यो, निर्माण क्षेत्रलाई चलायमान गर्न थप दुई/तीनवटा कुरा मौद्रिक नीति कार्यान्वयनका क्रममा समेट्नुपर्नेछ,' उनले भने ।

उनले निर्माण व्यवसायीसँग पूँजी अभाव रहेको र यो समस्या कोभिडदेखि नै रहिरहेको बताए ।

'२५ प्रतिशत थप कर्जा प्रवाह गरिदिनुपर्‍यो भनेर २०७८ सालमै भनेका थियौं,' उनले भने, 'हामीलाई २ देखि ५ वर्षसम्म ब्याज र किस्ता पुनर्तालिकीकरण गरिदिनुपर्‍यो । त्यो माग सम्बोधन भएको छैन ।'

बैंकको सावाँ र ब्याज भुक्तानी समयमै गर्न नसकेकाले आफूहरूको क्रेडिट हिस्ट्री बिग्रेको उनले बताए ।

'डेभलपमेन्ट बोन्ड जारी गरेर भए पनि निर्माण क्षेत्रलाई सहजीकरण गरिदिनुपर्‍यो भनिरहेका थियौं,' उनले भने, 'हामीले काम गर्नेबित्तिकै भुक्तानी आउनुपर्‍यो ।'

salt training

कमेन्ट गर्नुहोस्