
कास्कीको पोखरा महानगरपालिका- ६ नारेश्वर चोकमा रहेको मुक्तिनाथ शपिङ सेन्टरमा साउन १६ गते आगलागी भयो । बिहान २ बजे आगलागी भएपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरे । बैदाम प्रहरी, सशस्त्र बल र पोखरा महानगरको दमकलको समन्वयमा आगो एक घण्टामा नै नियन्त्रणमा आयो ।
आगो लागेको एक दिनपछि १७ गते सुजन गहतराज आफैंले सञ्चालन गरेको पसलमा के कसरी आगो लाग्यो अनुसन्धान गरिदिन भनि प्रहरीकोमा निवेदन लिएर पुगे ।
अनुसन्धानका क्रममा प्रहरीलाई सुजनले नयाँ ईनभटर जडान गरेको र सोही ईनभटर सर्ट भएर आगो लागेको हुनसक्ने बताउँछन् । प्रहरीले बीमा गरेको छ वा छैन भन्ने बुझ्दा प्रारम्भिक बयानको क्रममा उनले बीमा नभएको दाबी गर्छन् ।
तर उनको दाबी अनुसन्धानपछि गलत भएको खुल्दै जान्छ ।
प्रहरीले ईनभर्टरबाट आगो लाग्न सक्ने वा नसक्ने र विद्युत् प्राधिकरणबाट पनि सोधपुछ गर्छ । ईनभर्टर सर्ट भइ आगो नलाग्ने र जोड्ने क्रममा बिग्रन मात्र सक्ने जानकारी प्रहरीले पाउँछ । प्राधिकरणबाट पनि केही समस्या नरहेको जवाफ मिल्छ ।
पसलको बीमा रकम नभएको दाबी गर्ने सुजनले २ चैत, २०८० मा हिमालय एभरेष्ट इन्स्योरेन्स लिमिटेड न्युरोडबाट बीमा गरेको खुल्छ । प्रहरीको अनुसन्धानकै क्रममा सुजनले आगो लागि भएको भोलिपल्ट १७ गते बीमाको दाबी गर्दै इन्स्योरेन्स कार्यालयमा निवेदन पेश गरेको देखिन्छ । २ करोड १० लाख रुपैयाँ बराबरको बीमा गरेको कम्पनीले प्रहरीलाई जानकारी दिएको थियो ।
यसअघि पोल्ट्री फार्ममा पनि लागेको थियो आगो
सुजन गहतराजले एक्लै पसलमा आगो लगाउने योजना भने बनाएका होइनन् । सुजनको साथी भनिएका पवन नेपालको संलग्नतामा योजना भएको प्रहरीले जनाएको छ ।
पसल राम्रोसँग नचलेको, पसलको सामान धेरै मात्रामा स्टक भएको र घरधनीसँग भाडाको विवादका रहेको सञ्चालकले बीमा रकम दाबी गर्न पवनसँग मिलेर आगो लगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले बताए ।
योजनाअनुसार नै सुजन र पवन ड्यामसाइडको फेवा झिर रेस्टुरेन्टमा भेट भएर राति पसल पुग्छन् । रेस्टुरेन्टमा ५ बोतल बियर पिएपछि उनीहरू आफ्नो पसल नारेश्वर पुग्छन् । दुवै पसलभित्र १५ मिनेट बस्छन् ।
सुजन त्यसपछि बाहिर निस्किएर हतारमा गाडी चढी हिँड्छन् । एकैछिन सटर बाहिर बसेका पवनले सलाई कोरेर आगो लगाउँछन् । त्यसरी दुवै जनाले आफ्नो योजनालाई पूरा गराउँछन् ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गर्दा यसअघि पवन नेपालको पोल्ट्री फार्ममा आगो लागेको खुलेको हो । पवनले आगलागी भएपछि इन्स्योरेन्स कम्पनीबाट ३१ लाख रुपैयाँ बुझेको खुलेको छ ।
तर सो आगो लगाइएको हो वा लागेको हो प्रहरीले खुलाएको छैन । पत्रकार सम्मेलन गर्दै सूचना जानकारी दिएको प्रहरी समक्ष उभिएका अभियुक्त पवन नेपालले बीचमै बोलेर आफ्नो बचाउमा उत्रिए ।
‘मेरो चल्ला उत्पादन गर्ने फार्म हो । लाइन कट हुँदा, लाइन आएपछि ट्रान्सफर्मर पड्केर आगो लागेको हो । विद्युत् शाखाले पनि लेखेर दिएको हो,’ अभियुक्त बीचमै बोले ।
पवन बोलेपछि प्रहरीले दुवै अभियुक्तलाई कोठाबाट बाहिर निकाल्यो । प्रहरीका अनुसार पवनको घटनाबाट प्रभावित भएर सुजनले योजना बनाएको हुनसक्छ ।
एसपी थापाका अनुसार दुवैलाई आपराधिक उपद्रव मुद्दामा सात दिन म्याद थप गरी हिरासतमा राखिएको छ । यसबाहेक एसपी थापाका अनुसार घरधनीले आफ्नो घरको ७५ लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै निवेदन दिएका छन् । सो आगोमा डेढ करोड बराबर सामानको क्षति भएको थियो ।