
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा आराधनागरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम रहने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा वासुदेव र देवकीको पुत्रका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।
जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लागेको छ । प्राचीनकालदेखि नै पाटनको कृष्णमन्दिरमा भक्तजनको ठूलो उपस्थिति रहने गर्छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ ।