२९ जेठ २०८३, शुक्रबार

थारू समुदायका महिलाका लागि स्नान गर्न बलुवा नदीका ४ ठाउँमा घाट निर्माण गरिँदै

भदौ १३, २०८१
कञ्चनपुर
थारू समुदायका महिलाका लागि स्नान गर्न बलुवा नदीका ४ ठाउँमा घाट निर्माण गरिँदै

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मा थारू समुदायका महिलाहरूलाई स्नान गर्नका लागि चार ठाउँमा घटुवा (घाट) निर्माण गरिने भएको छ ।
 
बलुवा नदीका चार ठाउँमा व्यवस्थित तरिकाले घाट निर्माण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । थारू समुदायमा अन्तिम संस्कार (दाहसंस्कार)का लागि मलामी गइसकेपछि नदीमा महिलाले सामूहिक रुपमा स्नान गर्ने चलन रहेको छ । नदीको खुला ठाउँमा महिलाले स्नान गर्नुपर्ने र लुगा फेर्नुपर्ने अवस्था रहेकाले त्यसलाई व्यवस्थित गर्नका लागि घाट निर्माण गर्न लागिएको वडाध्यक्ष बाबुराम चौधरीले बताए । 

‘बन्जरीया, सिंहपुर, बालुवाफाँटा, सिंहपुर राना टोलमा घाट निर्माण गर्नका लागि योजना अघि सारेका छौं,’ उनले भने, ‘नगरपालिकाले प्रत्येक घाट निर्माणका लागि रु दुई लाखका दरले बजेट विनियोजन गरेको छ, घाट निर्माण गर्न त्यस बजेटले नपुग्ने भएकाले थप बजेटका लागि नगरपालिकामा छलफल चलाएका छौं ।’

सामुदायिक वनहरूसँगको लागत साझेदारीमा घाट निर्माणका लागि सहकार्य र छलफल पनि भइरहेको वडाध्यक्ष चौधरीले उल्लेख गरे । एक घाट निर्माणका लागि कम्तीमा रु पाँच लाख जतिको खर्च लाग्ने उनको भनाइ छ । उनका अनुसार घाटमा खुट्किलासँगै महिलालाई लुगा फेर्ने व्यवस्थित कोठा निर्माण लगायतको कार्य हुनेछ । वर्षातको समय सकिएपछि घाट निर्माणको कार्य प्रारम्भ हुने बताइएको छ ।
 
महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले वनको आयले भ्याउनेसम्मको लागत साझेदारीमा सहकार्य गर्न इच्छुक रहेको बताए । घाट निर्माणले महिलालाई खुला ठाउँमा लुगा फेर्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने उनले उल्लेख गरे । यसैगरी वडा कार्यालयले वडाका आठ ठाउँमा थारू समुदायको भुइयाँरी (देउथान) निर्माणको कार्य अगाडि बढाएको छ । 

आठवटै देउथानका लागि रु ३५ लाख बढी रकम खर्च गरिएको वडाध्यक्ष चौधरीले बताए । ‘केहीको निर्माण कार्य पूरा भएको छ,’ उनले भने, ‘केही निर्माण पूरा हुने चरणमा रहेका छन ।’ –रासस–

salt training

कमेन्ट गर्नुहोस्