
बा तिम्लाई अरु केही दिन सकिनँ !
त्यसैले तिम्लाई चर्को नबोलेर सम्मान गर्छु ।
बजारको लड्ड, मिठाई तिम्लाई मन पर्छ मलाई थाहा छ,
फाइदा गर्दैन भनेर किन्न सकिनँ ।
बा तिमी, अरु बाभन्दा फरक छौ र त तिमीले अलग सोच्छौ
हुन त सबै बा महान् छन्, जानेर–नजानेर सन्तानको भलो गर्छन् ।
बा, तिमी जे छौ ठीकै छौ तर म भन्न सक्दिन
तिम्लाई परिवर्तन गर्न दुस्साहस म कदापी गर्दिन ।
अर्बौँ बा भएको विश्वमा मेरा लागि त एक तिमी हौ
त्यसैले मलाई लाग्छ, तिम्ले सधैँ माफ गर्छाै ।
कदम–कदममा तिम्लाई कराउँछु, चिच्याउँछु । र पनि तिमी बोल्दैनौ
त्यसैले त तिमी महान् बा हौ, पीडा देखाउन्नौ ।
तिमी मात्र एक हौ मसँग पैसा नभएको थाहा पाउने
त्यसैले तिमी अन्तर्यामी हौ, मेरा लागि सत्य सिकाउने
बा, तिम्रो आदर्शमार्गमा हिँडे, बाले गरेको ठीक छ भनेर
बल्ल आज थाहा भो, तिम्रो आदर्श पापी दुनियाँले देख्दैन गुनेर
तैपनि सधैँ तिम्रो मार्ग पछ्याउँछु, घाटा नै भए पनि
समाजले लाछी, काँतर, नालायक भने पनि
बा मलाई माफ गर, तिम्रो छोरो काबिल बन्न सकिनँ
तिमी त छौ एक, माफ दिने दायाँ–बायाँ नसोचिकन ।
बा तिमीले भनेको आदर्शको बाटो, साच्चै कठिन रहेछ
पाइलै–पाइलामा, हेपाइ, दुर्व्यवहार, सकस व्याप्त छ ।
बा तिम्लाई केही गर्न सकिनँ, आज लज्जित छु
र पनि तिमी छौ माफ दिने ढुक्क छु ।
(कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनको अवसरमा लेखिएको कविता ।)