
नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटकमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो ।
यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।
सरकारले निर्णय गरेको १५ दिनपछि प्राधिकरणले आजबाट प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।
सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन प्राधिकरणले निर्देशन दिएको छ ।
२०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको तत्कालीन सरकारका प्रवक्ता रेखा शर्माले बताएकी थिइन् ।
त्यसलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणले कार्तिक २८ गते सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदाकहरूलाई टिकटकको पहुँचमा रोक लगाउन निर्देशन दिएको थियो ।
टिकटकमाथि रोक लगाउन निर्देशन दिएको करिब १० महिनापछि आज प्राधिकरणले खुलाउन निर्देशन दिएको छ ।
