
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह आज (आइतबार) हुने भएको छ ।
समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । स्थापनाको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए । प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुन लागेको उनले बताए ।
प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल पनि जुम्ला आउने कार्यक्रम रहेको जनाइएको छ ।
आइतबार नै प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक बिल्डिङ) र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको प्रतिष्ठानको आँखा केन्द्रको प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने कार्यक्रम तय भएको प्रतिष्ठानका उपकुलपति डा रावलले जानकारी दिए । –रासस–