०७ असार २०८३, आइतबार
वृत्तिविकास ठप्प

सशस्त्रका प्राविधिक जवानमाथि अन्याय : भर्ना भएको १५ वर्ष बित्दा पनि एउटै पदमा

भदौ २६, २०८१
काठमाडौं
सशस्त्रका प्राविधिक जवानमाथि अन्याय : भर्ना भएको १५ वर्ष बित्दा पनि एउटै पदमा

सशस्त्र प्रहरीको प्राविधिक जवानमा भर्ना भएको १५ वर्ष बितिसक्दा पनि ३२ जनाले जवानमै जागिर खाइरहेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले हवल्दारमा भर्ना लिँदा उनीहरू बढुवाबाट वञ्चित भएका हुन् ।

सि.सं. १३ का प्राविधिकहरूले १५ वर्षसम्म जवानमै जागिर खाँदा उनीहरूको थप वृत्तिविकास रोकिएको मात्रै होइन, काम गर्ने मनोबलमा समेत असर परेको छ । मेकानिकलतर्फका चालक र अन्य जवानहरू बढुवाबाट वञ्चित भएका हुन् । 

प्राविधिक जवानको कूल स्वीकृत दरबन्दी १९६ जना रहे पनि १६९ जनाको मात्र पदपूर्ति भएको छ । २७ जना प्राविधिक जवानको पद खाली नै छ ।

जवान बढुवा हुँदा सहायक हवल्दारमा हुनुपर्ने हो । तर, सशस्त्र प्रहरी मुख्यालयले हवल्दारमा सिधै भर्ना गर्दा सहायक हवल्दारको सीट संख्या एक मात्र खाली छ ।

अहिले सशस्त्रमा प्राविधिक सहायक हवल्दारको स्वीकृत दरबन्दी संख्या ९९ जना रहेकोमा ९८ जनाको बढुवा भएपछि एउटा दरबन्दीमात्रै पूर्ति गर्न बाँकी छ । यो पदको दरबन्दी कम हुनुको कारण सिधै प्राविधिक हवल्दारमा भर्ना लिनु हो ।

मुख्यालयका अनुसार सशस्त्रमा प्राविधिक हवल्दारको स्वीकृत दरबन्दी संख्या ८८ हो । ४२ जनाको पूर्ति भएपनि बाँकी ४६ दरबन्दी खाली छ । 

बाँकी यो खाली दरबन्दी पूर्ति गर्न सशस्त्र प्रहरी मुख्यालयले सिधै हवल्दारमा भर्ना लिन लागेको स्रोत बताउँछ । 

‘सि.सं. १३ का अधिकांश मेकानिकल इन्जिनियरिङतर्फका हवल्दार आन्तरिक बढुवाबाट पूर्ति गरेर बरु जवानमै भर्ना लिएको भए हाम्रो पनि वृत्ति विकास हुन्थ्यो,’ सि.सं. १३ का एक प्राविधिक जवानले लोकान्तरसँग भने, ‘यही तरिका हो भने हामी जवानबाटै घर जानुपर्ने अवस्था आउँछ ।’ 

प्राविधिक जवानमै १५ वर्ष बिताउनेहरू अधिकांश मेकानिकल र कम्प्युटर इञ्जिनियरिङतर्फका छन् । सशस्त्रमा प्राविधिकतर्फ नायव महानिरीक्षक (डीआईजी) को १, वरिष्ठ उपरीक्षक (एसएसपी) को २, उपरीक्षक (एसपी) को ३, नायव उपरीक्षक (डीएसपी) को १३, निरीक्षकको ३३, वरिष्ठ नायव निरीक्षकको ८, नायव निरीक्षकको ३०, सहायक निरीक्षकको ३०, वरिष्ठ हवल्दारको ८५, हवल्दारको ८८, सहायक हवल्दारको ९९ र जवानको १९६ जनाको स्वीकृत दरबन्दी छ । 

दरबन्दीअनुसार नायव उपरीक्षकमा १ जना, निरीक्षकमा १० जना, नायव निरीक्षकमा १७ जना, सहायक निरीक्षकमा ९ जना, हवल्दारमा ४६ जना, सहायक हवल्दारमा १ जना, जवानमा २७ जना गरी ११२ जनाको पद खाली छ ।

प्राविधिकमध्ये हवल्दारको ४६ दरबन्दी आन्तरिकबाटै पूर्ति गर्नुपर्ने दबाब बढे पनि नयाँ भर्ना लिने योजनामा मुख्यालय रहेको स्रोतले बताएको छ ।

एक जना प्राविधिक जवानले भने, ‘सि.सं. १३ का ३२, १६ का ६५ र २० का ११२ जना जवानहरूको भविष्यसँगै वृत्तिविकासप्रति संगठन गम्भीर भएको देखिएन । हामीलाई कहिलेसम्म जवान बनाएर राख्ने हो ?’

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डीआईजी कुमार न्यौपानेले सशस्त्र प्रहरीको नयाँ ऐन बनेपछि मात्रै सि.सं. १३, १६ र २० का प्राविधिक जवानलाई न्याय हुने बताए । 

उनले भने, ‘हो, प्राविधिकतर्फका केही जवानले जागिर खाएको मितिदेखि बढुवा हुन पाएका छैनन् । उनीहरूलाई नै न्याय गर्ने उद्देश्य अनुरूप यो विषय नयाँ ऐनको विधेयकको मस्यौदामा समेट्न लागेका छौं ।’  

उनले सहायक हवल्दारको सीट संख्या खाली नहुँदा पनि बढुवा गर्न नसकिएको बताए । प्राविधिक हवल्दारमा नयाँ भर्ना लिएर आन्तरिकलाई किन बढुवा नगरेको भन्ने प्रश्नमा न्यौपानेले भने, ‘यो आन्तरिक विषय भएकाले यसमा धेरै नबोलम् । नयाँ ऐन बनेपछि समस्या समाधान हुन्छ ।’ 

सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले पनि नयाँ ऐन बनेपछि समस्या समाधान  हुने बताए । 

पछिल्लोपटक सशस्त्र प्रहरी मुख्यालयले गत वर्ष साउन १७ मा २७ जना प्राविधिक जवानलाई सहायक हवल्दार पदमा बढुवा गरेको थियो । 

अब बढुवा गर्न प्राविधिक सहायक हवल्दारको एक सीट मात्रै खाली छ । 

कमेन्ट गर्नुहोस्