
बाल अधिकारका लागि विभिन्न कार्यक्रमको आयोजना गरी शनिबार ६० औँ राष्ट्रिय बाल दिवस, २०८१ मनाइयो । त्यसै अनुरूप नेपाल बाल सङ्गठनले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमको माहोल भने भिन्नै रह्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा उनले बोल्ने तयारी गर्नै लाग्दा एक बालक मञ्चको नजिकै देखा परे । त्यसपछि प्रधानमन्त्री ओलीले तत्काल आफ्नो बोल्ने पालो छाडेर ती बालकलाई काखमा राखेर निकैबेर खेलाए। त्यसपछि आफैँले माइक अन गरेर निकै बेर बोल्न लगाए । उनले बाबा, ममी, दिदी जस्ता सम्बोधन गर्न लगाई अरू पनि बोलाउने प्रयास गरे ।
हेर्दा झलक्क घरमा हजुरबुवा हजुरआमाले काखमा खेलाए जस्तै खेलाएर बालकलाई माइकमा बोलाउने प्रयास गर्दा ती बालक पनि रत्तिएका थिए । बालकसँग प्रधानमन्त्रीको त्यस्तो व्यवहारलाई कार्यक्रममा उपस्थित अन्य बालबालिका र अरू सहभागीहरू पनि रुचिपूर्ण अवलोकनमा थिए ।
हुन त प्रधानमन्त्रीको बालबालिकाप्रतिको यो रुचि पहिलो होइन । यस्तै व्यवहारका कारण उहाँलाई बा ! भनेर सम्बोधन गर्ने जमात ठुलो छ । गोरखापत्रमा खबर छ ।