
अविरल घनघोर वर्षा र त्यसैका कारण आएको बाढीपहिरो र डुबानले सङ्घीय राजधानी काठमाडौँ सडक सञ्जाल सम्पर्कबाट अलग हुँदा सुरुङमार्ग सहारा बनेको छ ।
नागढुङ्गाभन्दा तल चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिरनजिकै त्रिभुवन राजपथको झ्याप्लेखोलामा ठुलो पहिरो जाँदा सम्पर्क टुटेको काठमाडौं उपत्यकालाई निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले सहारा दिएको हो ।
सडक अवरुद्ध हुँदा राजधानी आउन जान नसकेका अलपत्र यात्रुलाई पहिलो पटक सुरुङमार्गले सेवा दिएको हो । शनिबारदेखि नै उक्त मुख्य सुरुङमार्गबाट अनौपचारिक आवागमन सुरु भएको छ । सुरुङमार्गको पूरा काम सक्न भने अझै झन्डै एक वर्ष लाग्ने अनुमान छ । गोरखापत्रमा खबर छ ।