
न्याय परिषद् नियमावली संशोधन विवाद लम्बिँदै जाँदा न्यायालय र नेपाल बार एसोसिएसन आमनेसामने भएका छन् । नियमावली संशोधन विवाद टुङ्गो लगाउन कार्यदल गठन भई प्रतिवेदन पेसपछि पनि विवाद निरूपण नगरी न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस गरेपछि
दुई संस्था वारपारको मुडमा पुगेका छन् ।
अवकाशको मुखमा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बारसँगको विवादमा परेका छन् । न्यायाधीश सिफारिसलाई प्रधान न्यायाधीश एवं परिषद् अध्यक्ष श्रेष्ठले ‘लेनदेनका आधारमा गरेको निर्णय’ भन्ने बार अध्यक्ष गोपालकृष्ण घिमिरेको अभिव्यक्तिपछि दुई संस्था देखिने गरी विवादमा
उत्रिएका हुन् ।
तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा लामो समय बेन्चविरुद्ध उभिएको बार पुनः आन्दोलनमा जाने निर्णयमा पुगेको छ । अदालतले बार अध्यक्ष घिमिरेमाथि अवहेलना मुद्दाको प्रक्रिया अघि बढाएको छ तर औपचारिक रूपमा दर्ता भइसकेको छैन । यता न्याय परिषद्ले घिमिरेको अभिव्यक्ति प्रवृत्त मनसाय प्रेरित भएको जनाएको छ, गोरखापत्रमा खबर छ ।