
काठमाडौं, १९ कार्तिक – राप्रपा नेपाल छाडेर एमाले प्रवेश गरेकी कोमल ओलीले दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी फिर्ता लिने कि नलिने भन्ने अन्योलमा रहेको बताएकी छिन् । पहिले टिकट दिने भन्ने पक्का भएर आफूले तयारी गरिसकेपछि एमाले पार्टीले अरुलाई नै टिकट दिएको ओलीले बताइन् ।
एमालेले स्थानीय सुन व्यवसायी हिराचन्द्र केसीलाई पार्टीको टिकट दिएको छ ।
पहिले आफूले प्रत्यक्षबाट चुनाव लड्नेमा पक्का भइसकेकाले स्थानीय महिला, युवा तथा गाउँलेबीच सहकार्य र प्रचार गरिसकेकाले अहिले आफूलाई उम्मेदवारी फिर्ता लिन असहज भएको ओलीले बताइन् । ‘कार्यकर्तासँग छलफलमा छु, चुनावी तयारी गरिसकेकाले उम्मेदवारी फिर्ता लिने सम्भावना न्यून छ, आज एक बजेसम्म पार्टीलाई निर्णय दिनुपर्ने छ’, ओलीले लोकान्तरसँगको फोन वार्तामा भनिन् ।
गायिका तथा सञ्चारकर्मीसमेत रहेकी ओलीले आफूले चुनाव जित्ने सम्भावना रहेको र अहिले पनि साठी प्रतिशत साथीहरुले उम्मेदवारी फिर्ता नलिन आग्रह बताइन् ।
उता एमाले भने कोमल ओलीले उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सघाउनेमा विश्वस्त देखिएको स्रोतले बताएको छ ।