
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन् ।
बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको बताए ।
दशैंको पूर्वसन्ध्यामा बाढी, पहिरोको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौं नागरिक घरवारविहीन हुन पुगेको पनि उल्लेख गरे ।
'मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन् । दशैंमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठिन अवस्था सिर्जना भएको छ', उनले भने, 'हजारौं नागरिकका करोडौंका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन् । यो विपत्तिको समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।'
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र रहेको र बन्धुत्व भावले विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उनले उल्लेख गरेका छन् ।
सभापति देउवाले बडादशैंको अवसरमा कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गरेका छन् ।