२६ असार २०८३, शुक्रबार
पोखरामा दशैँको माहोल

लेकबाट सस्तिएर याम्दी झरे च्याङ्ग्राः उपभोक्ता दंग, डोरी बेच्न बालबालिकाको तँछाड–मँछाड

असोज २४, २०८१
पाेखरा
लेकबाट सस्तिएर याम्दी झरे च्याङ्ग्राः उपभोक्ता दंग, डोरी बेच्न बालबालिकाको तँछाड–मँछाड

दशैँ लागेसँगै लेकबाट झारेका च्याङ्ग्राको पोखराको याम्दीमा मोलमोलाइ भइरहेको छ । कोही च्याङ्ग्रा छानिरहेका छन् । कोही त्यही हुलका बीच सडक छेउमा गाडी रोकेर उभिएका थिए । ती सामुदायिक वन समितिका मानिस हुन् । उनीहरू च्याङ्ग्रा चरनको पैसा उठाउन आएका थिए । उनीहरूको एउटै ध्याउन्न थियो, ‘च्याङ्ग्रा किन्ने मानिस आए फाइदा हामीलाई पनि हुने थियो ।’ त्यही माहोलमा अर्कातिर च्याङ्ग्रा धनीको एक टोली अरुसँग खासखुस गरिरहेका थिए । उनीहरूको हाउभाउबाट थाहा हुन्थ्यो– वन समितिबाट आएका मानिससँग उनीहरू खुसी छैनन् । अघिल्लो वर्षको तुलनामा यसवर्ष चरनको मूल्य बढी पर्न गएछ । त्यसैमा च्याङ्ग्रा धनी समितिका प्रतिनिधिसँग बेखुसी भएका हुन् ।  

दशैँको छेकोमा याम्दीमा यस्तो दृश्य हरेक वर्षको देखिन्छ । यहीबीच असोज २० गते पनि एउटा फरक दृश्य देखियो । च्याङ्ग्राधनी र खरिदकर्ताबीच मोलमोलाइ हुँदा एक हुल बालबालिका त्यही ठाउँमा झुम्मिएका थिए । छानिरहेका मान्छेले च्याङ्ग्रा किन्दा उनीहरू खुशी हुने गरेको पाइयो । करिब ६ देखि १२ वर्षसम्मको उमेर समूहका ती बालबालिकाको च्याङ्ग्रा व्यापारीसँग कुनै साइनो थिएन । तरपनि उनीहरू कसैले च्याङ्ग्रा किनिदिउन् भनेर झुम्मिएर बस्ने गर्छन् । किनकि उनीहरूलाई पनि च्याङ्गा डोहोर्याउने डोरी बेच्नु छ ।

null 

ग्राहकले च्याङ्ग्रा किनेपछि झुम्मिएर बसेका बालबालिकामध्ये एकजना भन्छन्– अंकल १०० मा डोरी लानु न हो । अर्का थप्छन्– डोरी लैजानु न मात्र ५० हो । त्यसैबीचबाट अर्की सानी नानी कराउँछिन्– अकंल ३० मात्र हो लैजानु न ! च्याङ्ग्रा किनेपछि एक व्यक्ति बालबालिकालाई बेवास्ता गर्दै गाडी भएको ठाउँमा पुग्छन् । अर्काले डोरी लिएर आउँछन् । र डोरीले बाँधेर च्याङ्ग्रा गाडीमा चढाउँछन् । वरिपरिका केटाकेटी खिस्स पर्दै यताउती नजर घुमाउँछन् । फेरि जहाँ मोलमोलाइ भएको छ, उहीँ दौडिएर पुगिहाल्छन् । डोरी बेन्चे कोसिस गर्छन् । कति सफल हुन्छन् त कति असफल । यिनीहरू याम्दीनजिकै रहेको शान्ति टोलका बालबालिका हुन् । जसको परिवारको आयश्रोत दैनिक ज्यालादारी हो । त्यसैले यी बालबालिका परिवारलाई आर्थिक रुपमा सघाउन भनेर डोरी बेच्न आइपुगेका हुन् । 

null

चार कक्षामा पढ्ने पिया परियारका बुवा ज्यामी काम गर्ने सिलसिलामा घरबाट टाढा छन् । आमा भने घरमै छिन् । उनले आमालाई आर्थिक रुपमा सघाउन डोरी बेच्ने  काम गर्छिन् । उनले अघिल्लो दिन अर्थात् असोज १९ गते भने ३५० रुपैयाँको डोरी बेचेकी रहिछिन् । यसबाट उनी खुसी थिइन् । ‘हिजोको पैसा चामल र तरकारी किन्न मम्मीलाई दिएँ,’ उनले भनिन् । असोज २० गते बिहानदेखि काममा गएकी उनको एउटा डोरी पनि बिकेको थिएन । त्यसैले उनी सुनाउँदै थिइन्, ‘आज त एउटै पनि किनेका छैनन् । 

पियाकै छेउछेउमा थिए– एकैटोलका साथीभाइ । अरुले ५० र १०० भन्दै डोरीको मूल्य बताइरहँदा बीचबाट ‘मात्र ३० को हो लैजानू’ भनिरहेकी थिइन् दीपिया पुन । कक्षा–२ मा पढिरहेकी उनकी आमा वैदेशिक रोजगारीमा छिन् । बुवा ज्यामी काम गर्छन् । दीपियाको धेय पनि पियाको जस्तै हो । उनीहरूलाई थोरै पैसा कमाएर घरमा भान्साको सामान जुटाउनु छ । उनीहरूको छेउमा कक्षा ५ मा पढ्ने अर्का बालक उभिएका थिए । उनी आफ्नो सफलता सुनाउन आतुर थिए । भन्दै थिए– हिजो १५ वटा डोरी बेचेँ । आज पनि बेच्दैछु ।’

null 

उनीहरू सबैजना डोरी बेच्नैका लागि याम्दी आएका थिए । ती बालबालिकामध्ये सबैका समस्या फरक–फरक भएपनि उद्देश्य एकै थियो । जसले पसलबाट २०० रुपैयाँमा डोरी किन्छन् । त्यसलाई १५ वटाभन्दा बढी बनाउँछन् । अनि १०० वा ५० रुपैयाँमा बेच्छन् । त्यसरी कमाएको पैसा उनीहरूको आफ्नै भने हुँदैन । हातमा परेको पैसाले उनीहरूलाई चक्लेट खाउँ पनि लाग्दैन । कमाएको सबै पैसा साँझमा आमा–बुवा वा परिवारका सदस्यलाई दिन्छन् । यी सबैलाई थाहा छ– त्यो पैसाले एकदिनका लागि भए पनि गुजारा गर्ने सामान मिल्छ । दशैँ नजिकिएसँगै पोखराका मुख्य बजारमा भीड छ । बजारमा मान्छेको चहलपहल देखिइरहेको छ । व्यापारीलाई भ्याइनभ्याइ छ । नयाँ लत्ताकपडाको रहर गर्दै पिया र दीपियासँगै उनीहरूका साथी पनि बजार डुलिरहेका छन् । दशैँका लागि परिवारसँग च्याङ्ग्रा किन्न आएका एक बालक त्यही माहोलमा रमाइरहेका छन् । सोही दृश्यमा अर्का एक पनि देखिन्छन् । थोरै पैसा कमाए घरमा सहयोग हुन्छ भन्ने सोच्दै उनी डोरी लिएर अभिइरहेका छन् । 

घट्यो च्याङ्ग्राको भाउ

दशैँको छेकोमा हरेक वर्ष लेकबाट च्याङ्ग्रा झार्ने गरिछ । बझाङ, हुम्ला, मनाङ र मुस्ताङबाट च्याङ्ग्राको बथान याम्दी आइपुग्छ । राजमार्ग छेउमा रहेको सामुदायिक वन छेउ हुलका हुल च्याङ्ग्रा देखिन थालेपछि पोखराले दशैँ मनाउने तयारी गर्छ । यसपटक अघिल्लो वर्षको तुलनामा च्याङ्ग्राको मूल्य सस्तिएर आएको छ । अघिल्ला वर्षको तुलनामा च्याङ्ग्राको संख्या बढी भएसँगै मूल्य घटेको बताइएको छ । अघिल्लो वर्ष प्रतिगोटा ५०–५५ हजारमा पाइने च्याङ्ग्रा यो वर्ष ४०–४५ हजारमा मिलिरहेका छन् । त्यसैले पनि याम्दी पुग्ने खरिदकर्ता धेरैबेर मोलमोलाइ गर्दैनन् । यद्यपि उनीहरू बथानबाट च्याङ्ग्रा छान्न भने समय लगाउँछन् । 

null

याम्दी नजिकैको सिम्पानीबाट हरि सुवेदी च्याङ्ग्राको मूल्य बुझ्न आइपुगेका थिए । मंहगो पर्ने डरले उनी यस वर्षको दशैँका लागि च्याङ्ग्रा किन्ने–नकिन्ने अन्योलमा थिए । याम्दी पुगेपछि उनी च्याङ्ग्राको मूल्य कम सुनेर दंग परे । ‘च्याङ्ग्रा पहिलेभन्दा यो वर्ष बढी ल्याइएछ । यसले गर्दा मूल्य घटेको पाइयो । किन्न सकिने अवस्था रहेछ,’ उनले भने ।

याम्दी पुगेपछि च्याङ्ग्राको मूल्य सुनेर दंग पर्ने खाली सुवेदी मात्र थिएनन्, अरु पनि थिए । उनीहरू धेरै मोलमोलाइ नगरी च्याङ्ग्रा खरिद गरेर गइरहेका थिए । त्यसमा छिनेडाँडाका खिलानिधि पाण्डे पनि थिए । यसपटक च्याङ्ग्रा सस्तोमा मिलेको उनले पनि बताए । 

null

‘यो वर्ष पहिलाकोभन्दा सस्तोमा पाइयो । मैले किनेको च्याङ्ग्रामा २५ किलोग्रामभन्दा बढी मासु बस्ने आशा छ । यो सधैँ खाइरहन पाउने चीज पनि होइन । यसैले छिमेकी सबै मिलेर बाँडेर खाने हो,’ उनले भने । 

जसवीर बोहराले बझाङको साइपाल गाउँपालिकाबाट यसपटक पनि च्याङ्ग्रा बेच्न पोखरा झारे । पाँच दिन भयो उनी करिब १२० वटा च्याङ्ग्रा लिएर पोखरा झरेको । पहिलाको तुलनामा राम्रो व्यापार भइरहेको उनले बताए । ‘जडिबुटी खाएका च्याङ्ग्राको मासु स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर उपभोक्ताले यसको मासु मन पराउँछन्,’ उनले आफ्ना च्याङ्ग्राको मार्केटिङ गर्दै भने । च्याङ्ग्रा बेचिसकेर दशैँ मनाउन घरमै पुग्ने योजना रहेको पनि उनले सुनाए ।    


 

salt training

कमेन्ट गर्नुहोस्