
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालको बैंकिङ क्षेत्रमा डिजिटल भुक्तानी प्रविधिमा नवीनतम कदम चाल्दै पहिलो पटक भिसा वेयरेबल स्टिकर 'एनआइएमबीपेवियर' सार्वजनिक गरेको छ ।
काठमाडौंको अलोफ्ट होटलमा आयोजित विशेष कार्यक्रममा बैंकले यो नयाँ सम्पर्करहित भुक्तानी प्रविधि प्रस्तुत गर्दै ग्राहकहरूलाई थप सुरक्षित, छिटो र सुविधाजनक कारोबारको विकल्प प्रदान गरेको छ ।
कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, पत्रकारहरू, र अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । बैंकले यो प्रविधिको माध्यमबाट ग्राहकहरूले आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न सक्ने सुविधा पाउनेछन्, जसले उनीहरूलाई पीओएस टर्मिनलहरूमा सम्पर्करहित कारोबार गर्न सहज बनाउँछ ।
यो कदमले नेपालमा डिजिटल भुक्तानी प्रणालीको क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास बैंकले लिएको छ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका वरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले यस प्रविधिको महत्वलाई जोड दिँदै भने, 'एनआइएमबी पेवियर नेपालका लागि एक गेम–चेन्जर साबित हुनेछ । यसले हाम्रो ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्दै, छिटो, सुरक्षित र सुविधाजनक बनाउनेछ। हामी नेपालमा पहिलो पटक यस्तो प्रविधि ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौं ।'
बैंकका अनुसार यो प्रविधि विशेष गरी ती ग्राहकहरूको लागि उपयुक्त छ, जसले भौतिक कार्डहरू वा मोबाइल वालेटहरू बोक्न रुचाउँदैनन् ।
यस प्रविधिले सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरी सजिलै र सुरक्षित कारोबार गर्न अनुमति दिन्छ । नेपाल राष्ट्र बैंकका नियम अनुसार, ५,००० रुपैयाँभन्दा माथिका सम्पर्करहित भुक्तानीमा पिनको आवश्यक पर्छ, जसले भुक्तानी प्रणालीमा थप सुरक्षा प्रदान गर्दछ ।
नयाँ प्रविधिको प्रचार गर्न बैंकले तीन महिनाको लागि विशेष प्रस्ताव ल्याएको छ । ‘एनआइएमबी पेवियर’ स्टिकरको लागि आवेदन दिने र यसलाई सक्रिय गर्ने ग्राहकहरूले १२ वटा पीओएस कारोबार पूरा गरेपछि, आफ्नो वेयरेबल शुल्क (एक हजार) फिर्ता पाउनेछन् । यो प्रचार योजना ग्राहकहरूलाई नयाँ भुक्तानी प्रणालीको अनुभव गर्न प्रेरित गर्ने उद्देश्यले ल्याइएको हो ।
बैंकले यस प्रविधिको परिचयसँगै बैंकिङ क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ । बैंकले यसलाई एउटा रणनीतिक कदमको रूपमा प्रस्तुत गरेको छ, जसले प्रविधिप्रेमी ग्राहकहरूलाई आकर्षित गर्नुका साथै आफ्नो उत्पादन र सेवा श्रृंखलालाई विस्तार गर्न मद्दत पुर्याउनेछ ।
बैंकले विगतदेखि नै नेपालमा डिजिटल नवप्रवर्तनको अगुवाइ गर्दै आएको छ । सन् २००३ मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले पहिलो पटक भिसा इलेक्ट्रोन डेबिट कार्ड जारी गरेको थियो, र भिसा कन्सोर्टियम र राष्ट्रिय भुक्तानी नेटवर्क (एनपीएन) मार्फत कार्ड सेवाहरूको प्रवद्र्धन गर्दै आएको छ ।
अहिले पनि बैंकले देशभर १६ लाख कार्डहरू, २७५ शाखा, २६५ एटीएम, र ४,००० भन्दा बढी पीओएस टर्मिनलहरू मार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकको यो नयाँ भिसा वेयरेबल स्टिकरले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा नयाँ अनुभव प्रदान गर्नेछ । यस प्रविधिले डिजिटल भुक्तानी प्रणालीलाई सहज, सुरक्षित र छिटो बनाउँदै ग्राहकहरूको अनुभवलाई उत्कृष्ट बनाउने लक्ष्य राखेको छ ।
यस नयाँ प्रविधिको परिचयले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई प्रविधिमा अगाडि बढाउने मात्रै होइन, डिजिटल बैंकिङ प्रविधिमा देशभर नयाँ अवसरहरूको ढोका खोल्ने अपेक्षा गरिएको छ ।