२४ असार २०८३, बुधबार
सत्ता सहकार्य सहज बनाउने प्रयास

'हेभीवेट' नेता सम्मिलित स‌ंयन्त्र बनाएर के सन्देश दिन खोज्दैछन् ओली–देउवा ?

कात्तिक २६, २०८१
काठमाडौं
'हेभीवेट' नेता सम्मिलित स‌ंयन्त्र बनाएर के सन्देश दिन खोज्दैछन् ओली–देउवा ?

दशैं, तिहार र छठपछि सरकारको स्थिरतामा प्रश्न उठ्ने आकलनलाई गलत सावित गर्दै प्रमुख सत्ता सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमालेले शक्तिशाली संयन्त्र गठन गरेका छन् । 

यस्तो आकलनलाई गलत सावित गर्ने र सरकारलाई ‘सफल एवं प्रभावकारी’ बनाउने गरी सत्तारुढ दुई दलले प्रभावशाली ८ नेता सम्मिलित शक्तिशाली संयन्त्र बनाएका हुन् । 

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार यो कुनै महत्त्वपूर्ण म्यान्डेट पाएको औपचारिक संयन्त्र होइन । तर, दुवै दलका शक्तिशाली नेता सम्मिलित संयन्त्रको सन्देश भने निकै ठूलो र दूरगामी रहेको दाबी नेताहरू गर्छन् । 

सामान्यतया प्रधानमन्त्री ओली आफूभन्दा माथि र आफूलाई निर्देशित गर्ने यस्ता संयन्त्रप्रति अनुदार मानिन्छन् । अन्ततः उनै ओली गत हप्ता प्रमुख सत्ता साझेदार कांग्रेससँग विनाशर्त यस्तो संयन्त्रका लागि तयार भए । 

प्रचण्डलाई विस्थापित गर्न कांग्रेस  र एमालेबीच भएको ७ बुँदे सहमतिको आशय नागरिकमा आउने निराशालाई चिर्ने भन्ने थियो । गत ३० असारमा बनेको दुई ठूला दलको झण्डै दुई तिहाइको सरकार पनि परम्पराबाट माथि उठ्न नसकेको भन्दै आलोचना भयो । संयुक्त सरकार बाढीपहिरोको विपत्ति र नागरिकको विश्वास जित्ने दिशामा अगाडि बढेन । 

एक सय दिनसम्म आइपुग्दा यसको कुनै छनक देखिएन । प्रतिस्पर्धी भए पनि अनुभवी दुई दलको सरकार नै परम्परागत शैलीबाट माथि नउठेपछि बौद्धिक जगतबाटै आलोचित भयो । यसैले चाडबाडपछि सरकारको भविष्यलाई लिएर अनेक आकलन गरिएका थिए । 

अर्कोतिर दुई शक्तिशाली छिमेकी चीन र भारतसँग सन्तुलन मिलाउन नसकेको भन्दै ठूला दलको सरकारको आलोचना भएको थियो । एकातिर चुच्चे नक्सायुक्त एक सय रुपैयाँको नोट छाप्ने, अर्कोतिर चीनसँगका नाका, बीआरआईजस्ता विषय प्रधानमन्त्रीको भाषणमा देखिन पनि थाले । 

सोहीकारण तिहार बिदाको समयमा कांग्रेस र एमालेले दुईदलीय संयन्त्रलाई आकार दिएका थिए । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अघिल्लो साता संयन्त्र निर्माण भयो । 

संयुक्त सरकारलाई ‘सफल र प्रभावकारी’ बनाउन दुईदलीय संयन्त्र बनाइएको दाबी गरिएको छ । संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

कात्तिक २१ देखि मंसिर २० सम्म पहिलो महिना कांग्रेस उपसभापति खड्काले कार्यदल बैठकको संयोजन गर्नेछन् । मंसिर २० गतेसम्म संयन्त्रको संयोजन गर्ने जिम्मा पाएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारलाई सफल बनाउन तथा दुई दलबीच देखिएका अविश्वास र आशंकालाई हटाउन दुईदलीय संयन्त्र बनेको बताउँछन् । 

‘मुख्य दुई पार्टीले ७ बुँदे सहमतिको जगमा सरकार बनाएका छन् । यसैले दुई पार्टीको सरकारले केन्द्र, प्रदेश र जिल्लासम्मै सरकारलाई सहयोग गर्न तथा समन्वय गर्न कांग्रेस र एमालेबीच दुईदलीय संयन्त्र बनाइएको हो,’ खड्काले लोकान्तरसँग भने, ‘दुई पार्टीको बीचमा समस्या आउन सक्छन् । कुनै खालको अविश्वास र आशंका देखिए हटाउने काम यसले गर्छ ।’ 

संयन्त्रले नागरिकमा देखिएको निराशा चिर्ने गरी सुझाव दिने पनि खड्का बताउँछन् । ‘नागरिकसँग जोडिएका, उठेका, निराशाजस्ता मुद्दामा कसरी राम्रो काम गर्न सकिन्छ र निराशा चिर्न सकिन्छ भनेर संयन्त्रले उपाय सुझाउने हो,’ खड्काले भने, ‘यसको एउटै सार भनेको सरकारलाई कसरी हुन्छ सफल बनाउन सहजीकरण गर्ने हो ।’

छिमेकीसँग सन्तुलन मिलाउन नसकेको आरोप प्रधानमन्त्रीले खेपेका छन् । यही बेला ओलीले चलाखीपूर्ण रूपमा कांग्रेसलाई साक्षी राखेर संयन्त्रको पहिलो बैठकबाटै आफू, देउवा र परराष्ट्रमन्त्री राणाले चीन भ्रमणको आवश्यक संयोजन गर्ने निर्णय गराएका छन् ।

‘दुई नेताको निर्देशन अनुरूप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने’ पहिलो निर्णयमा भनिएको छ । 

‘कतिपयले सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनिरहेका छन्, यो भ्रम हो । यस्तोमा विश्वास नगर्नुहोला होला,’ ओलीको बिफ्रिङबारे एक नेताले लोकान्तरसँग भने, ‘सरकारको नेतृत्व तीनपटक गर्दासम्म मैले सबैभन्दा कम्फरटेबल महसुस गरेको नै अहिले हो । हामीले कांग्रेससँगको सहज समन्वयमा निर्णय र नियुक्ति गरेका छौं ।’

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार पनि यो संयन्त्र कुनै औपचारिक तलब सुविधा लिएर गठन गरिएको होइन । सन्देश दिन र आपसी विश्वास बढाउन मात्रै संयन्त्र निर्माण गरिएको प्रधानमन्त्रीकै टीमको भनाइ छ ।

सरकार अब टिक्दैन भन्ने टिप्पणी हुन थालेपछि दुई दलले चलाखीपूर्ण रूपमा पार्टीका दुवैतर्फका प्रभावशाली नेतालाई संयन्त्रमा राखेका छन् । संयन्त्रले केन्द्र, प्रदेशदेखि जिल्ला तहसम्मै दुईदलीय संयन्त्र बनाउने पनि सहमति गरेका छन् । 

प्रधानमन्त्रीका सल्लाहकारभन्दा माथिको यस्तो संरचनाको परिकल्पना नेपालको संविधान र कानूनले गरेको छैन । यसअघि यस्ता संयन्त्र बने पनि विवादित भएको र कामकाजी नभएको भन्दै आलोचना भएको सबैलाई थाहा छ । सरकार कमजोर नभएको र एक अर्काप्रति विश्वास भएको सन्देश दिने संयन्त्रको मुख्य लक्ष्य देखिन्छ । 

भारतले भ्रमणको निम्तो नदिएपछि ओली पहिले चीन जाने तयारीमा लागेका हुन् । भारतले यसलाई सहजरूपमा नलिने आशंकाबीच ओलीले कांग्रेस र उसैको परराष्ट्र मन्त्रीलाई विश्वासमा लिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले मुख्य दलबीच सरकारलाई प्रभावकारी बनाउन र कामको प्राथमिकता निर्धारण गर्नका लागि संयन्त्र बनेको बताए ।  

‘काम नगर्ने, हल्लाखल्ला गरेर माहोल र परिस्थिति बिगार्ने तत्त्वहरू सक्रिय छन् । यस्तोमा समाजमा सरकारले पक्कै सकारात्मक काम गर्दैछ है भन्ने सन्देश पनि दिनुपर्नेछ । यसका लागि तल्लो तहसम्मै नतिजा दिनेगरी समन्वय र सहजीकरण गर्न संयन्त्र बनेको हो,’ बजगाईंले लोकान्तरसँग भने, ‘मुख्य दलबीच सरकारको कामको प्राथमिकता, काम र बुझाइबारे समान मत बनाउने र आवश्यक काममा विश्वास बढाउने यसको उद्देश्य हो ।’

साना दलको बार्गेनिङ धेरै भएको भन्दै कांग्रेस र एमालेले केन्द्रदेखि प्रदेशसम्मै नतिजा दिने गरी काम गर्ने दाबी गरेका थिए । यसैले मान्छेको जीवनमा देखिने गरी परिवर्तन ल्याउने र म्यासेज दिने गरी काम गर्नुपर्ने दबाब सरकारलाई छ । 

ओली र देउवा ढुक्क

संयन्त्र गठन भएलगत्तै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले यो समीकरण २०८४ सम्म सहजरूपले जाने बताएका छन् । प्रधानमन्त्री ओलीले शनिबार सचिवालयको बैठकमा सरकार आजभोलिमै ढल्ने प्रचारबाजीमा कुनै सत्यता नभएको ब्रिफिङ गरेका थिए । 

‘कतिपयले सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनिरहेका छन्, यो भ्रम हो । यस्तोमा विश्वास नगर्नुहोला होला,’ ओलीको बिफ्रिङबारे एक नेताले लोकान्तरसँग भने, ‘सरकारको नेतृत्व तीनपटक गर्दासम्म मैले सबैभन्दा कम्फरटेबल महसुस गरेको नै अहिले हो । हामीले कांग्रेससँगको सहज समन्वयमा निर्णय र नियुक्ति गरेका छौं ।’

ओलीले खुलेरै कांग्रेससँग भएको सात बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको बताउँदै समीकरण २०८४ सम्मै जाने बताएका थिए । नेपालले भारत र चीन दुवैसँगको सम्बन्धलाई आफ्नो हितमा प्रयोग गर्ने उनको भनाइ थियो ।

ओलीको यस्तो बिफ्रिङको भोलिपल्टै कांग्रेस सभापति देउवाले पनि यो समीकरण २०८४ सम्मै जाने बताएका थिए ।  ‘केही हुँदैन, गठबन्धन सरकार ०८४ सम्म चल्छ,’ देउवाले आइतबार धनगढी पुगेर सञ्चारकर्मीसँग भनेका थिए, ‘हाम्रो पार्टीका तर्फबाट कुनै त्यस्तो अप्ठ्यारो पार्ने काम हुँदैन ।’

केन्द्रपछि बागमती प्रदेशमा कांग्रेस र एमालेले बनाए संयन्त्र 

केन्द्रपछि कांग्रेस र एमालेले बागमती प्रदेशमा पनि दुईदलीय संयन्त्र बनाएका छन् । 

कांग्रेसबाट ३ र एमालेबाट २ गरी पाँच सदस्यीय संयन्त्रको बैठक पनि बसेको छ । 

बैठकले संयन्त्रलाई आलोपालो संयोजन गर्ने निर्णय गर्दै मंसिर मसान्तसम्म कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले संयोजन गर्ने समझदारी भएको छ ।

संयन्त्रको सचिवालयमा कांग्रेस र एमालेबाट एक–एक जना रहनेछन् । बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र गठन गर्न दुवै दलले जिल्लासँग समन्वय गर्ने निर्णय पनि गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्