२५ असार २०८३, बिहीबार

रेफ्रीको दुईवटा निर्णयमा इजिप्टको चर्को असन्तुष्टि

'मेसी र विश्व विजेतालाई प्रतियोगितामा टिकाइराख्न हामीमाथि अन्याय गरियो'
असार २४, २०८३
काठमाडौं
रेफ्रीको दुईवटा निर्णयमा इजिप्टको चर्को असन्तुष्टि

खेल सकिन १२ मिनेट मात्र बाँकी छँदा इजिप्ट फुटबल इतिहासकै सबैभन्दा ठुलो र ऐतिहासिक जितको नजिक उभिएको थियो। एटलान्टा स्टेडियममा फिफा विश्वकप २०२६ को रोमाञ्चक खेलमा इजिप्टले साविक विश्व विजेता अर्जेन्टिनामाथि २-० को अप्रत्याशित अग्रता लिइरहेको थियो। फुटबलप्रेमी यो अफ्रिकी मुलुक पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने सपना बुनिरहेको थियो।

तर, त्यसपछिको केही मिनेटमा खेलको दृश्य नाटकीय र भयानक रूपमा बदलियो।

७९औँ मिनेटमा अर्जेन्टिनाका क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तरलाई २-१ मा झारे। त्यसको चार मिनेटपछि नै अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले उत्कृष्ट हेडरमार्फत गोल गरेपछि अर्जेन्टिनाले ३-२ को रोमाञ्चक जित दर्ता गर्‍यो। २-० ले अगाडि रहेको इजिप्ट स्तब्ध बन्दै विश्वकपबाट बाहिरियो।

खेल सकिएपछि इजिप्टका खेलाडीहरू मैदानमै थुप्रिएर रोए भने टोलीका मुख्य प्रशिक्षक र अधिकारीहरूले रेफ्री र भिडियो असिस्टेन्ट रेफ्रीमाथि पक्षपात र अन्यायको गम्भीर आरोप लगाएका छन्।

खेलपछिको एक अन्तर्वार्तामा इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आक्रोश पोख्दै आफ्नो टोलीमाथि अन्यायपूर्ण व्यवहार भएको दाबी गरे। 'मैदानभित्र र बाहिर धेरै कुराहरू शङ्कास्पद देखिएका छन्। खेलमा विश्वसनीयताको चरम अभाव देखियो। सायद उनीहरू विश्व विजेता (अर्जेन्टिना) लाई प्रतियोगितामा राखिराख्न चाहन्थे। सायद उनीहरू मेसी यो दौडमा रहिरहून भन्ने चाहन्थे। अर्जेन्टिनालाई हरेक स्तरमा समर्थन मिल्यो र खेलको नतिजा उनीहरूकै पक्षमा ल्याउन ठुलो दबाब स्पष्ट देखिन्थ्यो।'

तनावपूर्ण खेलका क्रममा इजिप्टका एक असिस्टेन्ट कोचलाई रातो कार्ड देखाइएको थियो भने मुख्य प्रशिक्षक हसनलाई पनि रेफ्रीले पहेँलो कार्ड दिएका थिए। हसनले फिफाद्वारा अनुमोदित 'रङ्गभेद विरोधी' सङ्केत (दुवै हात क्रस गर्ने) गरेर रेफ्रीको विरोध गरेका थिए।

इजिप्टको टोली र समर्थकहरू रेफ्री फ्रान्स्वा लेटेक्सियरका दुईवटा निर्णयसँग पूर्ण रूपमा असन्तुष्ट छन् । इजिप्ट १-० ले अगाडि रहेको बेला मोस्टफा जिकोले टोलीका लागि दोस्रो गोल गरेका थिए। तर, भीएआरले गोल हुनुभन्दा १७ सेकेन्डअघि इजिप्टका मिडफिल्डर मारवान अतियाले अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजको खुट्टामा सामान्य टेकेको भन्दै उक्त उत्कृष्ट गोललाई रद्द गरिदियो । फिफाले खेलको गति बढाउन सामान्य सम्पर्कलाई फाउल नदिने नियम बनाए पनि इजिप्टको हकमा त्यसको उल्लङ्घन गरिएको आरोप छ।

अर्जेन्टिनाले विजयी गोल गर्नु ठीक अगाडि अर्जेन्टिनाकै पेनाल्टी बक्समा इजिप्टका कप्तान मोहम्मद सलाहलाई जुलियन अल्भारेजले लडाएका थिए। इजिप्टले पेनाल्टीको माग गरे पनि भीएआरले त्यसलाई सामान्य भन्दै 'चेक' समेत गरेन र सोही काउन्टर अट्याकमा अर्जेन्टिनाले विजयी गोल गर्‍यो। इजिप्टका फरवार्ड जिकोले भने, 'रेफ्री पूर्ण रूपमा अन्यायपूर्ण थिए। खेलको सुरुवातदेखि नै हामीविरुद्ध अन्याय प्रस्टै देखिन्थ्यो।'

इजिप्टको बहिर्गमनसँगै यस विश्वकपमा सहभागी कुल १० अफ्रिकी टोलीहरूमध्ये अब मोरक्को मात्रै प्रतियोगितामा बाँकी रहेको छ। चार वर्षअघि विश्वकपको सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्को ('एटलस लायन्स') ले अब बिहीबार बोस्टन स्टेडियममा बलियो टोली फ्रान्सको सामना गर्नेछ।

इजिप्टका लागि यो हार निकै पीडादायी र मन रुवाउने भए पनि इतिहासमै पहिलो पटक विश्वकपमा जित निकाल्नु र अर्जेन्टिना जस्तो बलियो टोलीसँग बराबरीको टक्कर दिनुलाई इजिप्टका समर्थकहरूले गर्वका रूपमा लिएका छन्। इजिप्टको टोलीले यस प्रतियोगिताभर 'मेकामेलिन' (हामी निरन्तर अघि बढ्नेछौँ) भन्ने नारालाई आत्मसाथ गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्